Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कतिदिन चल्ला डा. ज्ञानेन्द्रको हल्ला ?

हाम्रो कोशी आवाज
असार ४ २०७८, शुक्रबार
धरानमा कतिदिन चल्ला डा. ज्ञानेन्द्रको हल्ला ?

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार बढेको र सेवा प्रवाहका विषयमा दिनदिनै समाचार बाहिरिरहेका छन् । प्रतिष्ठानमा भ्रष्टाचार हुने गरेका र सेवा प्रवाहमा हुने गरेका लापरवाहीबारे यसअघि पनि समाचार नआएका होइनन् तर यसपटक अलि बढी समाचार आइरहेका छन् । भनौं अहिलेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नियुक्ति भएदेखि नै चर्चामा छन् । कारण उनको कार्यशैली ।
प्रतिष्ठानमा उपकुलपति नियुक्त भएर आएदेखि नै कता न कता, केही न केही कुरामा उनी विवादले चर्चामा छँदैछन् । उनको कार्यशैली देखेर केही महिनाअघि डा. गिरीले प्रतिष्ठानको हितमा काम गर्न नसकेको भन्दै प्रतिष्ठानका फ्याकल्टी (शिक्षक चिकित्सक) हरु आन्दोलित बनेका थिए । उनीहरुले डा. गिरीलाई बर्खास्त गर्न माग गरिरहँदा धरानेले उनको कार्यशैलीलाई बढी चासोका साथ हेरेका थिए ।
त्यसपछि कोरोनाको दोस्रो भेरियन्टले गाँज्न थालिसकेको थियो । त्यतिबेला प्रतिष्ठानले अक्सिजन पर्याप्त उपलब्ध गराउन सकेन, धरानका बिरामीलाई नियमित भर्ना लिन आनाकानी गरिरह्यो, अक्सिजन पर्याप्त भएन, भेन्टिलेटर कम भए र भएका समेत बिग्रिए तरपनि यी कुराहरु सुधार हुन नसकेपछि धरानमा नागरिक समाज, राजनीतिक दल, धरानप्रति चासो राख्ने सरोकारवाला र सर्वसाधारण मिलेर दबाव दिने भन्दै ‘धरान नागरिक दबाव सञ्जाल’ गठन गरियो । कोरोनाको कारण अस्पताल अस्तव्यस्त भएपछि धरानेले अब त प्रतिष्ठानमा अति भयो भन्दै दबाव सञ्जाल गठन गरेका हुन् ।

‘हाम्रो आन्दोलन वा दबाव डा. ज्ञानेन्द्र गिरीविरुद्धको होइन’, दबाव सञ्जालका संयोजक समेत रहेका प्रा.डा. राजेन्द्र शर्मा भन्छन्, ‘तीन दशक लामो इतिहास बोकेको प्रतिष्ठान किन जहिल्यै कमजोर हुन्छ, किन कहिल्यै सुध्रिदैन, दबाव सञ्जालका पदाधिकारीहरुको यो आन्दोलन भनेको उपकुलपति डा. गिरीविरुद्ध समग्र प्रतिष्ठान सुधारको लागि हो । यसपटक प्रतिष्ठान नसुध्रिएको विषयमा बढी आवाज उठ्न थालिसकेको छ, अबचाहिँ धराने जाग्नुपर्छ भनेर आन्दोलन र दबाव थालेका हौं, यो लर्तरो दबाव सञ्जाल होइन, हामी पार लगाएरै छाड्छौं ।’ उनी थप्छन्– यो लर्तरो सञ्जाल होइन, यसले धरानका विकृति, विसङ्गति चिर्न लागिरहन्छ ।
सञ्जाल गठन भइसकेपछि धेरैले आ–आफ्नो प्रतिक्रिया पनि दर्शाए । एकजना मित्रले फेसबुकमा पोष्टयाए– धेरै वर्षअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधार्न आन्दोलन गरेको तर हात लाग्यो शुन्य । उनका अनुसार अहिलेसम्म बीपी प्रतिष्ठान जस्ताको त्यस्तै छ भन्नुभन्दा पनि संरचना बनिरहेका छन् तर सेवा सुविधा छैन, अस्तव्यस्तता कायमै छ । उनी फेसबुक म्यासेजमा कुराकानी समेत गर्दै प्रश्न गर्छन्– संरचना बनिरहने, सेवा–सुविधामा अस्तव्यस्त भइरहने तर प्रतिष्ठान जहिल्यै घाटामै गएको देखाइन्छ किन ? यस्ता कुरामा कसले ध्यान दिने ? यस्ता कुरा उठाए फाइदा होला कि ।
धरानका अर्का एकजनाले पनि फेसबुकमै पोष्टयाए– धराने नेताको माथिसम्म पहुँच छैन कसरी सुध्रिन्छ प्रतिष्ठान ? एकजना लेख्छन्– यी पनि बिक्ने भए । अर्काले यसका अगुवा अन्य संघसंस्था डुबाएका पनि छन्, कसरी सुर्धालान् प्रतिष्ठान समेत भने ।
कतिले राजनीतिक स्वार्थ छ पनि भनिरहेका छन् । तर दबाव सञ्जाल भने प्रतिष्ठानबाहेक धरानका शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्यलगायतका पाटो सुधार्ने भन्दै लागिपरेको जनाइएको छ । अहिले पनि सचेत धरानेले लागिपरेका दबाव सञ्जालले प्रतिष्ठान सुर्धाला कि भनेर हेरिरहेका छन् । धेरैले सञ्जाललाई पत्याएका पनि छैनन् । यसअघि दलका नेताहरु चुइँक्क बोल्दैन थिए, उनीहरु नै त्यहाँ कर्मचारी भर्ती गराउन लागिपरिरहन्थे तर यसपटक किन सबै जुर्मुराए ? उनीहरुको स्वार्थ नमिलेर पो हो कि आदि इत्यादि प्रश्न । यी र यस्ता प्रश्न उठ्नु स्वभाविक हो ।
म पनि प्रतिष्ठान सुधार्न धराने जाग्नैपर्छ भन्छु । धरान हाम्रो हो, बीपी प्रतिष्ठान हाम्रो सम्पत्ति हो, यसको गरिमा र साख बचाउनुपर्छ भनेर लाग्नुपर्छ भन्नेहरू अब लागिरहनुपर्छ । प्रतिष्ठान पहिलादेखि यस्तै थियो, अब यसरी नै चलिरहनुपर्छ भन्ने भावनाको विकास गर्नु हुँदैन भन्छु ।

म पहाडको स्कुलमा एसएलसीसम्म पढ्दै गर्दा यसको नाम सुनेकै थिएँ– लाग्थ्यो धरानमा घोपा भन्ने अस्पताल छ, जहाँ नेपालकै राम्रो उपचार हुन्छ ।
अझै भन्ने हो भने म पनि २०५७ सालदेखि प्रतिष्ठानबारे जानकार छु । एसएलसी पढ्दा यसबारेमा जे सुनेको थिएँ, जे जानेको, बुझेको थिएँ अझै बुझ्ने मौका मिल्यो । मलाई ज्ञात छ, प्रतिष्ठानबारे ‘राम्रा समाचार’ धेरै आएनन् । २०५७ सालमा म प्रतिष्ठानभित्रको अफिस अफिसमा पत्रिका लिएर पुग्थें । त्यो क्रम लगभग २०५९ सालसम्म कायम रह्यो । पत्रिका लिएर आफैं पुग्ने हुँदा पत्रिकामा के छापिएछ भनेर नहेर्ने कुरै थिएन । त्यतिबेला पत्रिकामा हेर्दा लाग्थ्यो– यत्रो प्रतिष्ठानमा कसरी यस्तो होला ?
तर समाचार आइरहन्थे– प्रतिष्ठानको सिटी स्क्यान मेसिन बिग्रियो, एमआइरआइ मेसिन बिग्रियो, पढ्दै गरेका चिकित्सकले बिरामी हेर्न हेरेपछि…अप्रेसन गर्दा…आफन्तको आरोप र विरोध, कर्मचारी भर्ती केन्द्र, प्रतिष्ठानका नर्स, कर्मचारी, चिकित्सक आन्दोलनमा, प्रतिष्ठानमा अनियमितता भएको खुलासा, अख्तियारको छापा आदि इत्यादि । तर अहिले पनि त्यस्तै प्रकृतिका, त्यस्तै, यस्तै समाचार आइरहेका छन् ।
अहिले पनि प्रतिष्ठान देशकै मात्रै नभएर एशियाकै उत्कृष्ट भनेर भनिन्छ । यसको उद्देश्य नै हो चिकित्सकीय शिक्षा प्रदान गर्नु, सिकाइ र अनुसन्धानमा अब्बल ठहरिँदै बिरामीको सहज, सर्वसुलभ तरिकाले उपचार गरिहनु । तर अहिले यसले दिने शिक्षा राम्रो छैन, उपचार सेवा प्रभावकारी छैन, सेवा–सुविधा छैन, लथालिङ्ग पारामै चलिरहेको छ तर यसका पदाधिकारी मोटाएका छन् भनेर जहिल्यै प्रश्न गरिरहने धरानेहरु नै हुन् । तर पनि प्रतिष्ठान कहिल्यै सुध्रिएन ।
यहाँ नियुक्त भएर आउने पदाधिकारी जहिल्यै पैसाको तिरेर आउने अनि पैसा कमाएर फर्किने गरेको भन्दै बखान गर्ने अहिले गठित दबाव सञ्जालका पदाधिकारी नै पनि हुन् । ‘पदाधिकारी जहिल्यै नियुक्तिमा आउने, त्यो पनि धन कमाउन भनेर आइरहने’, सञ्जालका संयोजक प्रा.डा. शर्मा भन्छन्, ‘जबसम्म हामी हाम्रो धरान र बीपी प्रतिष्ठानबारे चिन्तित हुँदैनौं, त्यतिकै छाडिदिन्छौं, हामी धराने हौं भनेर लागिरहँदैनौं, तबसम्म धरानमा डा. ज्ञानेन्द्रजस्ता व्यक्तिहरु जन्मिरहन्छन्, डा. ज्ञानेन्द्रका जस्ता हल्ला चलिरहन्छन्, त्यतिकै सेलाउँछन् ।’ उनी थप्छन्, ‘समस्याको जड नियुक्त भएर आइरहने पदाधिकारी धन कमाउनै आइरहन्छन्, धराने हेरेको हेरयै, उनीहरु खाएर फर्किएको फर्कियै ।’
उनी प्रतिष्ठानलाई ‘खन्युको फल’ भन्छन् । ‘हाम्रो धरानको यत्रो गरिमा बोकेको प्रतिष्ठान खन्युको फल जस्तै भएको छ’, उनी थप्छन्, ‘वर्षमा एकपटक खन्यु पाक्छ, आयो फल टिप्यो, खायो, गयो, अब प्रतिष्ठानलाई यस्तो बनाइनुहुन्नँ ।’

कतिदिन चल्ला डा. ज्ञानेन्द्रको हल्ला ?
प्रतिष्ठान सुधारलगायत धरानका विकृति, विसङ्गति चिर्ने भन्दै दबाव सञ्जाल जन्मिएपछि अघिदेखि नै डा. गिरीको कार्यशैलीबारे राम्ररी नै हल्ला चलिसकेको थियो । उनी नियुक्त भएर आएदेखि नै यस्ता हल्ला चलेका हुन् । दबाव सञ्जाल गठन भएपछि अझै बढी हल्लाहरु चल्न थाले । प्रतिष्ठानभित्र हुने अनियमितता, भ्रष्टाचार, बेथिति, विकृति, विसङ्गतिबारे समाचारका रुपमा अझै बाहिर आउन थाले । डा. ज्ञानेन्द्रको हल्ला पनि चल्दै गयो ।
अहिले प्रतिष्ठानलाई धरासायी बनाएर आफ्नो लगानीको निजी मेडिकल कलेजलगायत निजी अस्पतालहरूको स्वार्थमा काम गरेको तथा खरिद प्रक्रियामा ठूलो हिनामिना गरेको आरोप उपकुलपति ज्ञानेन्द्र गिरीलाई लागेको छ । बाँकी पदाधिकारीहरूले गरेका अनियमिततासम्बन्धी समाचारहरू पनि बारम्बार आइरहेका छन् । तर सरकारले भ्रष्ट पदाधिकारीलाई कारवाही गरेको छैन । धरान नागरिक दबाव सञ्जाललगायत नौ दलहरूसमेत एकसाथ लागेका छन्, आवाज उठाइरहेका छन् तर केही काम भएकै छैन । बरू गिरीले उल्टै सुधारका लागि आवाज उठाउने संस्थाका चिकित्सकमाथि कारवाही थालेका छन् ।
धरानमा नागरिक दबाव सञ्जाल गठन भएपछि प्रतिष्ठानको तर्फबाट नागरिक समाजलाई घुमाइफिराइ ‘काम नलाग्ने’ कै जस्तो संज्ञा दिएको पाइएको छ । यसरी पनि उनविरुद्धको र उनको हल्ला चलिरहेको छ । त्यसपछि नागरिक दबाव सञ्जालले विज्ञप्ति नै जारी गर्नुपरयो ।
‘तदर्थ समूह बीपी केआइएचएस’ नामबाट सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नागरिक दबाव सञ्जालको नामसँग सम्बन्धित विषयमा टिप्पणी गरिएको विषयलाई हामी गम्भीरतापूर्वक अभिलेख गर्न बाध्य भएको छौं ।’ दबाव सञ्जालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘धरान नागरिक सञ्जाललाई ध्यानाकर्षण गराउन चाहन्छु’ शीर्षकमा लेखिएको सार्वजनिक टिप्पणीमा ‘बीपी प्रतिष्ठानको बेइज्जती र आआफ्नो नाम कमाइ राख्नु भा’छ यो कुरालाई हामी बीपी कर्मचारी समूहले निकै गम्भीरतापूर्वक लिएका छौं ।’ यस्तो वाक्यमा नागरिक दबाब सञ्जालमाथि आपत्तिजनक आक्षेप लगाइएको थियो ।
दबाव सञ्जालका सदस्य सचिव समेत रहेका कमल तिगेला भन्छन्, ‘नागरिक सञ्जाल धरानका सबै दलको अनुमोदन, नगरपालिका नेतृत्वको सहजीकरणमा गठित सर्वपक्षीय समिति हो । यो कुनै व्यक्तिको विरोध, समर्थन वा नाम कमाउने उद्देश्यले गठन गरिएको संस्था होइन । प्रतिष्ठानको एक सूत्रीय विरोध गर्न त गठन गरिएकै होइन । यो सञ्जाल धरान नगरमा भएका यावत वेथितिलाई निर्मूल गर्ने अभियानमा केन्द्रित छ । तर, वर्तमानमा सबैभन्दा बढी बेथिति रहेको प्रतिष्ठानमा अभियान प्रारम्भ गरिएको मात्र हो । वैधानिक ढंगबाट त्यहाँको भ्रष्टाचार, अनियमितताको सत्यतथ्य सार्वजनिक गर्न नागरिकका तर्फबाट गरिएको सत्प्रयास हो । यति नै प्रयास गर्दा पनि प्रतिष्ठानमा कोलाहल मच्चिनुले त्यहाँ हामीले अगाडि सारेका मुद्दाहरु अनुमोदन भएको ठानेका छौं । कथित विज्ञप्तिमा प्रतिष्ठानको नेतृत्व गरिरहेका उपकुलपतिको ठाडो समर्थन गरिएको देख्दा कतै यो विचार पनि उपकुलपतिकै प्रायोजन त हैन ? भन्ने शङ्का उब्जिएको छ ।’

भ्रष्टाचारविरुद्ध बोल्ने डाक्टरलाई कारवाही
प्रतिष्ठान सुधारका काममा चासो नदिएका डा. ज्ञानेन्द्रले पछिल्लो समय प्रतिष्ठानमा भइरहेका अनियमितता तथा सुधारका विषयमा बोल्ने चिकित्सकमाथि कारवाही प्रक्रिया अगाडि बढाएका छन् । उनले प्रतिष्ठान सुधारको कुरा राख्दै आइरहेका डा. विष्णु पोखरेललाई स्पष्टीकरण सोधेका छन् । डा. पोखरेलले सामाजिक सञ्जालमा प्रतिष्ठानमा भएका भ्रष्टाचार, अनियमितता र प्रतिष्ठानको अस्तित्व ध्वस्त पार्ने काम भइरहेको कुरा लेखेका थिए । सोही विषयलाई लिएर उपकलुपति डा. ज्ञानेन्द्रले डा. पोखरेललाई स्पष्टीकरण दिन भन्दै पत्र काटेका छन् ।
उनले केही समय पहिले सामाजिक सञ्जालमा प्रतिष्ठानको अस्तित्व ध्वस्त पार्ने र निजी मेडिकल कलेजलाई काखी च्याप्ने मेडिकल माफियालाई अख्तियारसँग कारवाहीको माग गर्न सार्वजानिक आह्वान गरेका थिए । ‘नमस्ते बीपी प्रतिष्ठानमा भ्रष्टाचारले ज्यान लिने अख्तियार तमाशा हेर्ने? कहिलेसम्म’ मेसेज लेखी अख्तियार प्रमुख आयुक्त प्रेम राईको नम्बर उपलब्ध गराउँदै दबाब सिर्जना गर्न मेसेज गरौं भन्दै सबैमा अनुरोध गरेका थिए ।
अहिले प्रतिष्ठानमा भएको आर्थिक अनियमितता (भ्रष्टाचार) को उच्च स्तरीय समति गठन गरेर छानविन गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष यहाँका चिकित्सक र कर्मचारीले माग गरेका छन् ।
प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले प्रधानमन्त्री समक्ष सो आग्रह गरेका हुन् । पछिल्लो समय राजनीतिक हस्तक्षेपमा परेका बीपी प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न हुन थालेपछि प्रतिष्ठान आर्थिक सङ्कटमा परेको भन्दै चिकित्सक र कर्मचारी प्रतिष्ठान सुधारको माग गर्दै तीनदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रतिष्ठान र धरान बजार निस्किएर पनि आन्दोलन गरेका थिए । प्रतिष्ठानको फ्यागल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. पोखरेलले प्रतिष्ठानमा भएको भष्टाचारको उच्च स्तरीय समिति गठन गरी छानबिन गर्न प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष माग गरेका छन् ।

धरानेको पत्र
यस्तै, धरानेले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र समेत पठाइसकेका छन् । उनी प्रतिष्ठानको कुलपति समेत हुन् । धरानको साख फर्काउने र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्ने भन्दै लागेको र गठन भएको ‘धरान नागरिक दबाव सञ्जाल’ ले इलाका प्रशासन कार्यालय धरानमार्फत् सो ध्यानाकर्षणपत्र बुझाइएको सञ्जालका संयोजक प्रा.डा. राजेन्द्र शर्माले जानकारी दिएका छन् ।
ध्यानाकर्षणपत्रमा अस्पतालको सेवाको गुणस्तर खस्किँदै गएको, शैक्षिक गतिविधि विवादमा तानिएको तथा ह्रासोन्मुख देखिएको र अनुसन्धानका कामहरु पनि आशातीत नरहेको गुनासो पोखिएको छ । ध्यानाकर्षणपत्रमा भाडाका घरमा चलेका अस्पताल फस्टाउँदै जानु र झन्डै तीन बिगाहा क्षेत्रफलमा फैलिएको स्थापित सरकारी एवं विदेशी दातृ निकायबाट निर्मित भवनहरुमा निःशुल्क प्राप्तफर्निचर र उपकरहरुको प्रयोग गर्न ये शिक्षण अस्पताल सधैं घाटामा जानुको कारण पक्कै पनि शंकाको घेरा पर्नु र खोजीको विषय हुनु हामी ठान्दछौं भनिएको छ । ध्यानाकर्षणपत्रमा समस्याको जड प्रतिष्ठानमा हिनामिना र नियतमै खोट रहेको औंल्याइएको छ । यस्तै, तत्कालका समस्या पनि ध्यानाकर्षणपत्रमा जनाइएको छ । अक्सिजन प्लान्ट युरो ‘स्टाण्डर्ड’ मा जोडिएपनि बाहिरबाट खरिद गर्नुपर्ने, बिग्रिने गरेको, आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुपर्नेमा उल्टै उसैलाई मर्मत भुक्तानी दिइनु, १०० बेडको कोभिड अस्पताल भनेपनि ७० मात्रै रहनु, खरिद प्रक्रिया पूरा नगरी सामग्री खरिद हुनु, कुरुवाहरुका लागि पानी, शौचालय नहुनु, बिरामीको हेरचाहमा लापरवाही हुनु, डायलायसिस मेसिनको अभाव हुनु जस्ता समस्या समेत औंल्याइएको छ । ध्यानाकर्षणपत्रमा अक्सिजन पर्याप्त नहुनु, भेन्टिलेटर कम हुनु र भएका समेत बिग्रिएका हुनु, बिरामीको अनुपातमा स्वास्थ्य कर्मचारी कम हुनु, सरकारले उपलब्ध गराउने औषधि नहुनु, कोभिडका बिरामीले स्वास्थ्य बिमा सुविधा प्रयोग गर्न नपाउनु, सिटी स्क्यान मेसिन बिग्रिरहनु, एमआरआइ उपकरण बिग्रिएकै अवस्थामा रहनु, मर्मतका नाममा धेरै रकम खर्च हुनु, विद्यार्थीको शैक्षिक क्यालेन्डर अस्तव्यस्त हुनु, प्रतिष्ठानको सञ्चित घाटा चुलिएर ७ अर्ब पुग्नु, १ अर्ब बेरुजु देखिनु, रजिष्टारद्वारा जारी गरिएको सर्कुलरमा बेरुजु फछयौट गर्न निरीहता देखाउनु, फार्मेसी सञ्चालन हुन नसक्नु प्रतिष्ठानको कमजोरी पक्ष रहेको औंल्याइएको छ ।

सधै प्रतिष्ठान यस्तो नै भइरहने ?
‘अहँ, प्रतिष्ठान सधैं यस्तो हुनु हुँदैन’, धरानका प्राध्यापक हरिप्रसाद दाहाल भन्छन्, ‘हामी धराने हाम्रो प्रतिष्ठान, राम्रो प्रतिष्ठान हो भनेर आवाज उठाइरहनुपर्छ ।’ उनले राजनीतिक नियुक्तिकै कारण बीपी प्रतिष्ठान धराशायी बन्दै गएको बताउँदै भने, ‘प्रतिष्ठानमा उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकलगायत नियुक्ति गर्दा राजनीतिक नियुक्ति हुनै हुँदैन, त्यहीकारण प्रतिष्ठान धराशाही बनेको हो ।’
उनले प्रतिष्ठान धरानेको सम्पत्ति भएको बताउँदै खोइ धरानेको सहभागिता भन्दै प्रश्न पनि गरे । उनले प्रतिष्ठानमा अन्य संरचनामा बनाइरहने तर आर्थिक स्थितिमा जर्जर भनिरहनुले प्रतिष्ठानमा भ्रष्टाचारको जरो त्यही छ भन्ने कुरा छर्लङ्ग भएको तर्क राखे । ‘सुनिरहनु, देखिरहनु भएको छ होला, प्रतिष्ठानमा ठूलाठूला भवन बन्छन्, अन्य संरचना बनिरहन्छन् तर आर्थिक हिसाबले धराशायी बन्यो भनिरहन्छन्, यस्तो दोधारे चरित्रले नै बुझे हुन्छ, प्रतिष्ठानमा भ्रष्टाचार, कमिसनको खेल जहिल्यै चलिरहन्छ र प्रतिष्ठान कहिल्यै सुध्रिदैन ।’
उनले यस्तो नियुक्तिका लागि दबाव सिर्जना गर्नुपर्ने र विधान नै परिवर्तन हुनुपर्ने धारणा राखे । ‘अब धराने परिवर्तन हुनुपर्छ, उपकुलपतिलगायत अन्य महत्वपूर्ण विधान नै परिवर्तन गर्नुपर्छ भनेर दबाव दिनुपर्छ, जे मा पनि राजनीतिक नियुक्ति, हुँदाहुँदा ती राजनीतिक नियुक्ति भएकाले कर्मचारीसमेत राजनीतिक हिसाबले नै नियुक्त गर्छन्, यसका लागि धरानका राजनीतिक दलले पनि साथ दिएर ‘सिष्टम’ नै परिवर्तन गर्नुपर्छ र राजनीतिक दलले माथिसम्म पुगेर यसको बारेमा ओकल्नुपर्छ ।’
हुन त धरानका राजनीतिक दल पनि यसको जिम्मेवार छन् । यसअघि पार्टीका ठेकेदारलाई ठेक्का पारिदिने अन िकेही कार्यकर्ता प्रतिष्ठानमा भर्ती हुन भन्दै लागेकै हुन् । अब धराने दल पनि सुध्रिनुको विकल्प छैन । यसको साथै बीपीभित्रकै डाक्टर, कर्मचारी, शिक्षक, विद्यार्थी, विभागीय प्रमुख अधिकांशमा एकता छैन । एकता नभएपछि कसैले मुख्य पदाधिकारीको भक्तिगान गाउलान् कतिले विरोध । यसैको परिणामले पनि बीपी सुध्रिरहेको छैन । यतातर्फ पनि ध्यान जानुपर्छ ।
प्रतिष्ठानका एक चिकित्सक भन्छन्– राजनीतिक दल वा सरकार पक्षबाट जहिलेसम्म नियुक्ति हुँदै प्रतिष्ठान नबुझेको मानिस भित्रिइरहन्छ तबसम्म प्रतिष्ठान कहिल्यै सुधारिँदैन । सबैले सोंचेकै हो, स्वास्थ्य र शिक्षामा कहिल्यै यस्तो नहोस् । स्वास्थ्य र शिक्षाजस्तो क्षेत्रमा पनि वर्षौदेखि भ्रष्टाचार भइरहेको, फाइलहरु अख्तियारसम्म पुगिरहनु, अख्तियारको छापा मारिरहनुपर्ने अवस्थामा आउनु भनेको पक्कै सुखद होइन । प्रतिष्ठान जहिल्यै आर्थिक घाटामा गइरहनु तर प्रतिष्ठानमा संरचना बनिरहनु, कुनै सामग्री खरिद भइरहनु, खरिद प्रक्रियामा खाएको खायै गर्नु, खरिद गरिएका मेडिकल उपकरणहरु उपयोग नगरी थन्काएर राखिनु दुःखद् हो ।
प्रतिष्ठानका डा. ज्ञानेन्द्रको जसरी हल्ला चलेको छ, त्यस्तो नहोस् । अहिले प्रतिष्ठान दूरदर्शी नेतृत्व पाउन नसक्दा नै हैरानीमा छ । प्रतिष्ठानको लक्ष्यअनुसार कहिल्यै पदाधिकारी पाउन सकेन । प्रतिष्ठानलाई बुझेको, जानेको, प्रतिष्ठानभित्रकै कार्यदक्षता भएका दूरदर्शी नेतृत्व चयन आजको आवश्यकता हो । अब प्रतिष्ठानले यसबाट बेलैमा पाठ सिक्नुपर्छ ।

प्रकाशित मिति: असार ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend