Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१८ लाखमा बन्यो कुरुवा घर, शौचालय र बाथरुम

हाम्रो कोशी आवाज
असार ५ २०७८, शनिबार
१८ लाखमा बन्यो कुरुवा घर, शौचालय र बाथरुम

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड–१९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ ।
धरानका मेयर तिलक राईको पहलमा कोभिड १९ अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी सहज होस् भन्ने उद्देश्यले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घरसहितको शौचालय र बाथरुम निर्माण गरिदिएका हुन् ।
मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले अहिले कोभिडको बेलामा भीडभाड गर्ने अवस्था नभएको जानकारी दिँदै कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको जानकारी दिए । ‘मेयर सा’बसँग कुरा भइरहेको छ, कहिले हस्तान्तरण गर्ने भनेर ? दाताहरुको नाम शिलालेखमा लेख्ने काम भइरहेको छ, अब चाँडै अस्पताललाई हस्तान्तरण गर्छौ,’ उनले भने ।
उनका अनुसार १८ फिट चौडाई र ८० फिट लम्बाई भएको कुरुवा घर निर्माण भएको छ भने १८ फिट चौडाई र १२ फिटा लम्बाई भएको शौचालयसहितको बाथरुम निर्माण गरिएको छ ।
कुरुवा घर, शौचालय र बाथरुम १८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । ‘संक्रमितका आफन्तहरु कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछि ब्यवस्थित कुरुवा घरसहित शौचालय, बाथरुम हामीले निर्माण गरिदिएका हौं,’ उनले भने ।
मेयर राईले कुरुवा घरसहित शौचालय, बाथरुम निर्माण भइसकेको जानकारी दिँदै अब हप्ता, १० दिनभित्रमा हस्तान्तरण गरिने जानकारी दिए । बिरामीका कुरुवाहरुले अस्पताल बाहिर चौरीमा बिजोग अवस्थामा बस्नुपरेको गुनासो गरेको थियो ।
अस्पताल प्रशासनले पनि कुरुवा घर विषयमा आग्रह गरेको कारण निर्माणको पहल आफूले गरेको मेयर राईले बताए । ‘दुई हप्ता अघिदेखि नै कुरुवा घर सञ्चालनमा आएको छ, त्यहाँ कुरुवाहरु बस्न पनि थालेका छन्, शौचालय र बाथरुम चाँहि चारदिन अघिमात्र सञ्चालनमा आएको हो,’ मेयर राई भने । मेयर राईले सम्पूर्ण भौतिक संरचनाको पाटो पूरा भएको बताउँदै त्यहाँ आवश्यक पर्ने सामग्रीहरु पनि अस्पताललाई हस्तान्तरण गरेपछि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
कोभिड अस्पतालको बाहिर चौरीमा बिरामीका आफन्तहरु बस्दै आएका थिए । वास्तवमा भन्ने हो भने एशिया कै प्रतिष्ठित अस्पताल प्रतिष्ठानले नै कुरुवा घरको व्यवस्थापन गर्नुपर्ने हो । तर, किन गर्न सकेन ? केही दिन अघिदेखि परेको प्रतिकुल वर्षातका कारण बिरामीका आफन्तहरु अहिले निर्माण सम्पन्न भएको कुरुवा घरमा सरेर बसेका छन् ।
बिरामीका आफन्त उर्मिला चौधरीले आफ्नो घर उदयपुरको फत्तेपुर रहेको बताउँदै भनिन्, ‘मेरो विरामी कोभिड अस्पतालमा विगत दुई हप्तादेखि भित्र छ, हामी बाहिर चौरीमा पालभित्र बसेका थियौं, शौच गर्न पनि समस्या थियो, खुल्लारुपमा शौच गर्न बाध्य थियौं, अहिले शौचालय बनेको छ, सहज भएको छ ।’
यस्तै, गुनासो प्रदेश नं. २ बाट आएकी अनारदेवीले पनि गरिन् । अनारदेवीले आफ्नो बिरामी अस्पताल भित्र रहेको धेरै दिन भएको बताउँदै बाहिर पाल मुनी रात काट्नु परेको सुनाइन् ।
कोभिड १९ अस्पताल बाहिर सुविधा सम्पन्न शौचालयसहितको कुरुवा घर त निर्माण भयो । कुरुवाहरुलाई समस्या के छ त ? भने शौचालयमा आवश्यक पर्ने सामग्री ।
धरान–१० का रेवत केबुकहाङ र रोशन लिम्बू हप्तादिनअघिदेखि बिरामी भाउजुको पर्खाइमा रहेका छन् । उनीहरुको पहलमा कुरुवाहरुले अहिले निर्माण भएको कुरुवा घरको शौचालयमा प्रति व्यक्ति ५० रुपैयाँको दरले पैसा उठाएर साबुन, सरफ, बाल्टिन, जग र ब्रसलगायतका आवश्यक पर्ने सामग्री खरिद गरेर राखेका छन् । यतिमात्र होइन । कुरुवाहरुले शुक्रबार कुरुवा घर वरिपरिको फोहोरमैला पनि सफाइ गरेका छन् ।

प्रकाशित मिति: असार ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend