धरानः धरान–१५ मा मोटरसाइकल र स्कुटी जुध्दा चारजना घाइते भएका छन् ।
धरान–१५ विशाल चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३७प४०२ नम्बरको स्कुटर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को३७ प५९५३ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई पैदलयात्री धरान–१४ बस्ने वर्ष ३३ की अम्विका श्रेष्ठलाई ठक्कर दिँदा उनी घाइते भएकी छिन् । स्कुटर चालक धरान–१४ बस्ने वर्ष ३७ को टंकबहादुर खत्री, निजको श्रीमती वर्ष ३३ की निर्मला खत्री र निजको छोरी वर्ष ९ की नेहा खत्री समेत चारैजना घाइते भएका थिए । उनीहरुको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक वर्ष ५० को भीमबहादुर खड्गी र दुवै सवारी साधन अस्थायी प्रहरी चौकी श्यामचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति साढे ८ बजेको हो ।
यस्तै, सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । चोरीको मोटरसाइकल लिएर फर्किएका प्रहरी जवान दुर्घटनामा पर्दा गम्भीर बनेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी पोष्ट लौकहीमा कार्यरत वर्ष ३० को प्रहरी जवान प्रेमकुमार मण्डल गम्भिर घाइते बनेका हुन् । प्रहरी चौकी उल्टीबाट चोरीको मोटरसाइकल लिई कार्यालयतर्फ आउँदै गर्दा उनी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । भोक्राहा नरसिँह गाउँपालिका ३ स्थित कच्ची भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको उनी सवार बा९०प ७७९३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
गम्भिर घाइते बनेका उनको जिल्ला अस्पताल सुनसरीमा उपचार सम्भव नभएपछि गोल्डेन अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, कोशी गाउँपालिकास्थित भित्री कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका बुद्धसागर यादवको नातिनी वर्ष ६ की कैनी यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी छिन् ।
उनलाई उपचारार्थ न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । चालक तत्काल फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख सञ्जीवकुमार शर्माले जानकारी दिए ।







