धरानः धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत ‘चिसो चिसो हावा चल्यो’ सार्वजनिक गरेका छन् ।
विश्व संगीत दिवसको अवसर पारेर आफ्नै युट्युब च्यानलमार्फत ‘लिरिकल भिडियो’ को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द –संगीत समेत रहेको छ ।
जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ गरेको गीत रेकर्डिङ धरानको भावना स्टुडियोमा गरिएको हो । धरानका पुराना गायक रोहित लामो समयको विदेश बसाइपछि विगत ५ वर्षदेखि धरानमै आफ्नो व्यवसायसँगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्दछन् । धरानमा हुने विभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिइरहने गायक मास्केले चिसो चिसो बोलको गीत पनि धेरैपल्ट गाइसकेका छन् ।
एक वर्षअघिको कोभिड महामारीमा केही गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक वर्षपछि नयाँ गीत सार्वजनिक गरेका हुन् । यही गीतको छिट्टै म्युजिक भिडियो समेत बनाउने तयारीमा छन् गायक रोहित ।


