Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाउँमै रोकिए युवा

हाम्रो कोशी आवाज
असार ८ २०७८, मंगलबार
गाउँमै रोकिए युवा

ताप्लेजुङः देशमै रोजगारी गरौंला भनेर लाखौं युवा ऋण काढेर अध्ययन गरिरहेका छन् । भएभरको सम्पत्ति अध्ययनमा सकिँदासमेत देशमा रोजगारीका अवसर नहुँदा धेरै युवा हैरान भएका छन् ।
एक गाँस खान, एकसरो लगाउन, घर परिवार र लालाबालालाई पाल्न दिनहुँ सयौं युवा विदेश पुग्छन् । ताप्लेजुङ जिल्लामा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क हेर्ने हो भने हजार भन्दा धेरैको संख्यामा खाडी मुलकमा जाने गरेको छन् ।
२०७५ सालमा एक हजार ५८८ जना वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाएको देखिन्छ । २०७६ सालमा एक हजार ८६८ जनाले बैदेशिक रोजगारीमा जानका लागि दाहदानी बनाउको थियो । २०७७ सालमा एक हजार ९३ जना वैदेशिक रोजगारीको लागि राहदानी बनएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गायत्रा अधिकारी खड्गाले बताइन् । ताप्लेजुङको तीन वर्षको मात्र तथ्याङ्क हेर्दा चार हजार ५४९ जना वैदेशिक रोजगारमा गएको देखिन्छ । गाउँ–ठाउँमा रोजगारी नपाएर बाध्यताले अर्काको भूमिमा पसिना बगाउन जानु बाध्यता पनि हो ।
पछिल्लो पुस्ताका युवाहरुमा कृषि क्षेत्रप्रति आर्कषण बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका उद्योग अधिकृत देउप्रसाद तामाङले बताए । आफ्नै गाउँठाउँको माटोमा सुन फलाउन सकिन्छ भन्ने उत्तिकै रहेका छन् । ताप्लेजुङ जिल्लामा प्रत्येक वर्ष घरेलु तथा साना उद्योग दार्ता गर्नेको संख्या बढ्दै गएको जिल्ला उद्योग कार्यालयको तथ्याङ्कले जनाएको छ । ताप्लेजुङमा एक हजार ३०५ वटा उद्योग तथा फर्म दर्ता भएर सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कले जनाएको छ । विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्नका लागि एक हजार दश वटा व्यापार व्यवसाय दर्ता भएको छ । सबैभन्दा धेरै कृषिसँग सम्बन्धित उद्योग तथा फर्म दर्ता भएको उद्योग अभिकृत तामाङले बताए ।
तीनै मध्येका एक हुन्– टेकबदुर विष्ट । ताप्लेजुङको फुङलिङ नगरपालिकाका फावाखोला गाउँको शिर नामसालिङ खर्कमा बाख्रा हेर्दै दिन बिताउँछन् त्यस खर्कमा ७० वटा बोयर बाख्रा चरिरहेको देख्दा जोकोहीको मन लोभिन्छ ।
विष्टले विदेश जाने विचार नगरेका होइनन् । अष्ट्रेलिया जाने सपना बोकेर २०५६ सालमा उनी काठमाडौँमा रहेको हाई हिमालयन म्यानपावर पुगेका थिए । तर अष्ट्रेलिया पुगेर डलर कमाएर सहरमा एउटा आफनै पक्की घर बनाउने, गाडी किन्ने अनि परिवारसँग विभिन्न ठाउँ घुमघाम गर्ने सपना काठमाडौंमा धेरै दिन टिक्न सकेन ।
मेनपावर कम्पनी ८ लाख रुपैयाँ खाएर भागेपछि विष्टको रङ्गीन सपना औंसीको रातमा बदलियो । हुन त विष्टले जमानामा एसएलसी पास गरेर आइएसम्मको अध्ययन गरेका थिए । त्यतिबेला एसएलसी पास गरेकोले प्रशस्त जागिर मिल्थ्यो ।
जुन ठाउँमा जागिर खाएपनि मेनपावरले खाइदिएको ८ लाख रुपैयाँ चाँडै कमाउन सकिँदैन भन्ने सोच्यो विष्टको मनले । त्यसैले उनलाई पैसा कमाउने एक मात्र उपाय आफैले व्यवसाय सञ्चालन गर्नु हो जस्तो लाग्यो त्यसैले उनले आफ्नै व्यवसाय सुरु गरे । पशु पाल्ने काममा सानैदेखि रुचि भएकाले उनले यसमा सफलता हासिल गरे । विष्टले २०७२ सालमा घरेलु तथा साना उद्योग ताप्लेजुङमा नामसालिङ बोयर बाख्रा फर्म दर्ता गरी बाख्रा पाल्न गरे । बिऊका लागि अष्ट्रलियाबाट रु २ लाख ५० हजार रुपैयाँ हालेर बोयर बोका ल्याए ।
अहिले उनका गोठमा ७० वटा बोयर र २० वटा साना जातका माउ छन् । उनीकहाँ भएको बोयर बोका ९५ केजी जति छ । अहिलेको बोयरको मासु प्रपत किलो १२ सय रुपैयाँमा बजारमा बिक्री हुँदै आएको छ तर विष्ट मासुभन्दा पनि पाठपाठी बिक्री गर्दै आएका छन् ।
पाठपाठी बिक्रीबाट आएको पैसामा खर्च कटाउँदा वर्षेनी सात लाख जति बचत गर्ने गरेको उनले बताएका छन् । उनले फर्मको आमदानीबाट एउटी छोरीलाई स्नाकोतरर एउटा छोरा १२ कक्षामा र एउटा छोरा ताप्लेजुङ सदरमुकाम फुङलिङमा स्कुल पढाउँदैछन् । विष्टले बाख्रा पालेर आम्दानी गर्न अरुलाई पनि सघाइरहेका छन् । ताप्लेजुङका ९ वटा पालिकाका बाख्रापालकलाई बोयरको बिऊ बोका दिँदै आएका छन् ।
बाख्रा पाल्न विष्टले स्थानीय सरकारबाट सहयोग पाएका छन् । खोर बनाउनका लागि फुङलिङ नगरपालिकाले उनलाई दुई लाख रुपैयाँ सहयोग पाए । त्यसमा दुई लाख थपेर उनले खोर बनाएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले पनि आवश्यक सामाग्री उपलब्ध गराएको छ ।
विष्टले बाख्रा गोठालो लाग्नुपर्दैन । बिऊका बोका र र्भखरका पाठपाठीबाहेक सबै बाख्रा खर्कमा छोडिदिन्छन् । साँझ परेपछि बाख्रा आपैmँ खोर फर्किएर आउँछन् । यसरी खर्कमा छाडिदिँदा जुका, किर्ना र झरीले सताउने गरेकाले छिट्टै जग्गा भाडामा लिएर आधुनिक खोर बताए । बाख्रा बाँधेर पाल्ने विचार गरेका छन् उनले ।
विष्टको एउटा सपना छः अबको केही वर्षमा आफ्नै गाढी चड्ने । यसका लागि अझ बढी आम्दानी गर्न फर्म विस्तार गर्ने विचार गरेका छन् । तर ऋण लिन उनलाई अलि समस्या भएको छ । नेपाल बैंकले ४ प्रतिशत वार्षिक ब्याजमा ऋण दिने भन्दै एक वर्ष झुलाएको र अन्त्यमा गाउँको जग्गा धितो नलिने भन्दै ऋण नदिएको नमिठो अनुभव उनीसँग छ । उनको विचारमा व्यवसायीहरुको व्यवसाय तथा फर्मलाई धितो राखेर सहुलियत ब्याज दरमा ऋण दिनुपर्छ ।
उनी अहिले आफ्नो व्यवसायप्रति गर्वको महसुस गर्छन् । अष्ट्रेलिया जान नसकेपनि अष्ट्रेलियाको बोयर जातिका बाख्राका सन्तानसँग दिन बिताउँदै अष्ट्रेलियामा कमाउने जति पैसा आफ्नै गाउँघरमा कमाउन पाउँदा निकै खुशी रहेको विष्ट बताउँछन् ।
विष्ट मात्र होइन फुङलिङ नगरपालिकाको पाथीभरा चोकका, फेन्सी व्यापारीका नामले चिनिने डिल्ली थेबे पनि कृषिमा तानिएका छन् । गत वर्ष कोरोना पैmलिएपछि लामो समय पसल बन्द गर्नु पर्दा घाटा लाग्यो । त्यसपछि कोभिडको दोस्रो लहर आउनुअगाडि उनले पसल बेचिदिए ।
अहिले कोभिडले गर्दा बजार बन्द छ । तर थेबे अहिले पहिले फेन्सी पसलमा जति व्यस्त थिए त्योभन्दा धेरै व्यस्त छन् । उनलाई व्यस्त राख्ने काम मुक्कुम मोल्टी एग्रो भेट प्रालिले गरेको हो । थेबे समेत पाँचजना मिलेर पाथीभराङयाङवर गाउँपालिकाको नाङखल्याङमा ९८ रोपनी जग्गा किनेर यो काम थालेको बताउँछन् । ‘अहिलेसम्म एक करोड लगानी भइसकेको छ,’ उनले भने ।
यस फार्ममा अहिले ६० वटा बाख्रा, २०० वटा लोकल कुखुरा र ५ माउ बङ्गुर रहेको छ । हेच्चीङ मेसिनमार्फत प्रत्येक हप्तामा कुखुराका १०० वटा चल्ला उत्पादन गर्दै आएका छन् । ‘हामीले फलफूल र तरकारी खेतीमा पनि लगानी गरेका छौं,’ थेबेले भने । फुङलिङ नगरपालिकाले लगानीको ७५ प्रतिशत अनुदान दिएकाले केरा, दाँते ओखर, कागती र सुन्तलाजस्ता फुलफूलमा समेत लगानी गरेको थेबेले बताए ।
फेन्सी पसलमा उनले कसैलाई रोजगारी दिएको थिएन । यता फार्ममा चार जनालाई रोजगारी दिएको उनी बताउँछन् । फर्ममा काम गर्ने कर्मचारीलाई महिनाको ६० हजार तलबभत्ता दिँदै आएका छन् ।

‘कपडा पसलमा पनि ठीकै थियो । घाम पानीमा निस्कुन पर्दैनथ्यो । पानी पर्दा पनि, घाम लाग्दा पनि ग्राहकहरु छाता ओढेर आउनुहुन्थो । सामान बेचेर दुई चार रुपैयाँ जम्मा हुन्थ्यो । तर त्यो उत्पादनमूलक व्यावसाय होइन,’ उनले भने । तर फर्म उत्पादनमूलक काम भएकाले थेबे दङ्ग छन् ।
फुङलिङ नगरपालिकाको फाखोलाका कमल विष्ट स्थापित ताप्लेजुङको सञ्चारकर्मीको नाम हो । उनी नेपाल पत्रकार महासंघका सदस्य समेत हो । उनले लामो समय फक्ताङलुङ एफएम रेडियोमा काम गरे । सञ्चारकर्मी भएर आर्थिक क्रान्ति हुँदैन भन्ने लागेर अहिले उनी हर्कटे पशुपालन तथा कृषि फारम चलाउन लागेका छन् । अहिले विष्ट बाख्राको खोर बनाउन व्यस्त छन् । उनले पाथीभरा यावरक गाउँपालिकाको नाङखल्याङमा २० रोपनी जग्गा खरिद गरेर गोठ बनाउँदै छन् ।
प्रदेश १ को भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले खोर बनाउन विष्टलाई ६ लाख ६८ हजाररुपैयाँ अनुदान दिएको छ । प्रदेश सरकारको ७५ प्रतिशत अनुदान र फारम सञ्चालकको २५ प्रतिशत लगानीमा खोर बन्दै गरेको गरेको विष्टले बताए ।
विष्टले १२ कक्षा पास गरेका गरेका छन् । अहिलेसम्म जागिरका लागि कतै आवदेन दिएका छैनन् । ‘म जस्तै बेरोजगारहरुलाई रोजगारी दिने विचारमा छु’ उनले भने ।
त्यस्तै, १० वर्षे जनयुद्ध हिडेका पाथीभरा याङवरक गाउँपालिका युवा नेता रमेश राई (रसिक) उनी पनि सात वर्ष अगाडिदेखि कृषि क्षेत्रमा रमाउन थालेका छन् । उनी जिल्लामा क्रियाशिल र स्थापित नेताको रुपमा लिन सकिन्छ ।
राईले अहिले फुङलिङ नगरपालिमा डुम्री कृषी फर्म सञ्चालन गर्दै आएका छन् । राईको फर्मबाट मासिक चार सय किलो च्याउ उत्पादन हुँदै आएको छ । बजार धेरै राम्रो छ । प्रति किलो २४० रुपैयाँमा बिक्री हुँदै आएको राई बताउँछन् । पारिवारसँग बसेर मसिक एक लाखको हाराहारीमा आम्दानी गर्दै आएका छन् ।
केही वर्ष अगाडि बजेट बक्तव्यमा मात्र किसानको लागि कृषि अनुदान दिने घोषणा भएपनि गाउँ–गाउँका किसानकहाँ पुग्दैनथ्यो । तर संघीय संरचनामा देश गएसँगै अहिले तीन सरकार छन् । जसमा सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तह नै हो ।
स्थानीय सरकारले प्रत्यक्ष स्थानीय समुदायको समस्यारुह नजिकबाट नियालेर समाधानको लागि पहल गरेको छ । विगतका दिनहरुमा गाउँ–गाउँमा किसानले कृषि अनुदान पाउँछन् रे भन्ने सुनेका मात्र थिए । राज्यबाट विनियोजन भएको किसानका लागि अनुदान गाउँ–गाउँका कृषकहरुमा पुग्दैनथ्यो ।
तर स्थानीय सरकार आएसँगै गाउँ–गाउँका कृषकहरुले प्रत्यक्ष आर्थिक सहयता, अनुदान, प्रविधिक सहयोग र प्रोत्साहन पाउँदै आएको मिक्वाखोला गाउँपालिकाका लक्ष्मी लिम्बूले बताए । स्थानीयहरुले कृषि क्षत्रमा आत्मानिर्भर हुनका लागि विभिन्न अनुदान कार्यक्रमहरु घोषणा गरेको छ ।
मैवाखोला गाउँपालिकाले ५० मुरी धान उत्पादन गर्ने किसानले ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिने भएको छ । सिदिङवा गाउँपालिकाले दुहुनो गाईलाई भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले निःशुल्क पशुबीमा गरिदिएको छ । सिरिजंगा गाउँपालिकाले चौरी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम सावर्जनिक गरेको छ । पाथीभरायाङवका गाउँपालिकाले महिलाहरुको आयआर्जन गर्नका लागि प्रत्येक घर बाख्राको पाठी उपलब्ध गराउँदै आएको पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले बताइन् ।
खाडी मुलुक जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनी बताइन । आधुनिक प्रविधि प्रयोग गरेर देशमै कृषि व्यवसाय गरेमा विदेश जानु नपर्ने उनको भनाइ छ । विदेशी भूमिमा घण्टौं पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा नेपाली भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिने उनीहरुको भनाइ रहेको छ । विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा कृषि वा अन्य व्यवसाय गरेर मनग्य आम्दानी हुने भएकाले स्वदेशमै व्यावसायी बन्न आग्रह उनीहरुले गरेका छन् । ‘बाख्राबाट पनि राम्रै आम्दानी हुन्छ, गरे देशमै सुन फलाउन सिकन्छ’, विष्टले थपे ।

प्रकाशित मिति: असार ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend