धरानः गाउने भनेपछि हुरुक्कै हुन्थिन्, धरान-१७ की इषा तामाङ । सानैदेखि गीत गाउन थालेकी उनले अहिले गीत–सङ्गीतमै रमाइरहेकी छिन् ।
‘ब्याचलर्स’ को परीक्षा लेखिसकेकी उनले सानैदेखि नै गीत गाउन थालेको बताउँछिन् । खासमा उनले धरानको डिपोट स्कुलमा कक्षा–९ मा पढ्दादेखि गाउन थालेकी थिइन् । कक्षा–१० मा पढ्दा अतिरिक्त क्रियाकलापअन्तर्गत गायन प्रतियोगितामा भाग लिएकी उनले तेस्रो भएपछि उनी गीत–सङ्गीतर्फ हौसिएको बताउँछिन् । ‘त्यतिबेला म तेस्रो बनें’, उनले भनिन्, ‘त्यसपछि सङ्गीतको कक्षा नै लिन थालें ।’
अहिले उनी सङ्गीत पनि सिकिरहेकी छिन् । भोला राईसँग आफूले सङ्गीत सिकिरहेको उनले बताइन् । परिवारलाई पनि उनले गाएको खुब मन पर्छ । ‘अहिले धेरैजसो बुबाले हौस्याउनुहुन्छ’, उनले भनिन्, ‘मैले गाएका कतिपय कभर सङ्गहरु पनि शेयर गरिदिनुहुन्छ, खुशी लाग्छ ।’
उनले विशेषतः पप गीतमा झुकाव राख्ने गरेको बताइन् । ‘म सबै प्रकारको गीत गाउँछु तर मेरो झुकाव पपगीततिर हो ।’ उनले भनिन् । उनी चलेका पुराना कलाकारलगायत अन्य कलाकारको गीत गाउन सक्छिन् । धरानको युएन, नवोदय कलेजबाट प्लस टु सकेकी उनले धरान सिटीबाट ‘ब्याचलर्स’ सकेकी हुन् ।










