धरानः अहिले टिकटकमा नरमाउने कमै होलान् । सबैलाई मनोरञ्जनात्मक प्रस्तुतिका साथ धरानका एकजोडीले मनोञ्जन प्रदान गरिरहेका छन् । ती जोडी हुन्– धरान निवासी आमाछोरा भावना राई र बाबु पराजुली । जसको जोडीबारे यसअघि पनि हाम्रो कोशी आवाजमा समाचार प्रकाशित भइसकेको छ । अहिले टिकटक संसारमा उनीहरुको जोडी जमेको मात्रै छैन भाइरल समेत बनेको छ ।
विशेषतः हँसाउने अभिनयले नै उनीहरु भाइरल बनेका हुन् । ‘आफू पनि रमाइलो गर्ने र अन्यलाई पनि फ्रेस होस् भनेर कमेडी भिडियो बनाउँदै आएका छौं’, भावनाले भनिन् ।
हाल टिकटकमा आमाछोराको साढे ८ लाख बढी ‘फलोअर्स’ पुगेका छन् । ‘नन क्वीन’ नाम दिइएको टिकटकमा अहिले ४१.४ मिलियन लाइक्स, ८८७.१ के फलोअर छन् ।
आमा भावना र उनको छोराले सन्देशमूलक टिकटक बनाउँदै आएको र छोराकै भविष्यको लागि सघाउँदै आएकी छिन् । ‘मनोरञ्जन त सबैलाई चाहिन्छ नै तर अझै भन्नुपर्दा छोराको उज्ज्वल भविष्यको लागि पनि बाबुआमाले नै सघाउँदै आएका छौं ।’
उनीहरूका अधिकांश भिडियो सन्देशमूलक र कमेडी स्टाइलका छन् । विशेषतः सबैजसो बालबालिका, बुढाबुढी पुस्ताले रुचाउने तरिकाले बनाइएको टिकटकमा कमेडी नै मन पराइएको पाइएको भावनाले जानकारी दिइन् ।
‘टिकटक रमाइलोका लागि हेरिन्थ्यो, घरमा बस्दा बस्दा बोर हुने, रमाइलोका लागि टिकटक हेर्दाहेर्दै सबै परिवार नै मिलेर कमेडी टाइपको बनाऔं भनेर लागियो, अहिले आएर फलोअर र लाइक्स पनि ह्वात्तै बढ्दै गएको छ ।’ उनले भनिन् ।
उनले सन्देशमूलक तथा कमेडी खालको टिकटक बनाउनाले नै आफूहरू धेरैको रोजाइमा परेको जानकारी दिए । ‘खासमा सन्देशमूलक र कमेडी नभइदिएको भए धेरैको रोजाइमा पर्दैनथियौं होला ।’ उनले भनिन्, ‘त्यही भएर हामीले दिने कन्टेनमा पनि मेन्टेन गर्दै आएका छौं, जस्तोपायो त्यस्तै, भिडियो पोष्ट गर्दैनौं ।’
८ वर्षीय छोरालाई हिरो बनाउने लक्ष्य लिएको उनले खुलाइन् । ‘अहिले बाटो देखाउने हो, तर जसको इच्छा पनि आफ्नो छोरा हिरो नै होस् भन्ने चाहना हुन्छ, त्यही भएर हिरो नै बनाउने लक्ष्य लिएको हो, भनौं, कलाकार बनाउन चाहन्छु ।’ उनले थपिन् ।
नृत्य, चित्रकला, खेलकुदमा भाग लिँदै आएका उनले भविष्यमा हिरो र बिजनेश म्यान बन्ने लक्ष्य लिएको बताए । उनी अभिनयमा निकै खारिएका छन् । बाबु पनि अहिले कोरोना महामारीका कारण फुर्सदमा छन्, यही फुर्सदमा अझै बढी भिडियो लगाउँदै आएको उनी बताउँछिन् ।
भावनाको विचारमा टिकटक बहुउपयोगी हो । यसलाई सही सदुपयोग गरियो भने सामाजिकरूपमा पनि चिनिने र समाजमा केही सन्देश छर्न सकिने बताउँछिन् । ‘खासमा टिकटक बनाउनेवित्तिकै चिनिहालिन्छ भन्ने पनि छैन, सही सन्देश छर्ने खालको बनाइयो भने चिनिन्छ र समाजमा पनि योगदान गर्न सकिन्छ भन्ने मेरो धारणा छ ।’ उनले भनिन् ।
टिकटक रमाइलो गर्ने माध्यममा मात्र नभएर करियरलाई बदल्न सक्ने माध्यम पनि भएको उनको भनाइ छ । ‘धेरैजना यसबाट सेलिब्रेटी पनि बनेका छन्, म्युजिक भिडियोदेखि फिल्मसमेत खेल्ने अवसर आउन सक्छ ।’ उनले भनिन्, ‘त्यसैले म्युजिक भिडियो, फिल्मजस्तै समाजलाई सन्देश छर्ने टिकटक बनाऔं, भिडियो बनाउँदा विशेषतः पोजेटिभ बनाऔं, सभ्य नागरिकको परिचय दिऔं ।’













