धरानः धरानलगायत सुनसरीमा निषेधाज्ञा पुनः थपिएको छ । असार २२ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
प्रजिअ ढकालको अध्यक्षतामा बसेको डिसीएमसीको बैठकले फेरि हप्तादिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लाभर टेम्पो, सिटी सफारी र निजी सवारी साधनहरु जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको प्रजिअ ढकालले जानकारी दिए । उनका अनुसार ठूला सवारी साधन चल्ने छैनन् ।
सबै प्रकारका बिहान ५ बजेदेखि पसलहरू ४ बजेसम्म खोल्न पाइने भएको छ । यस्तै, कृषि बजार बिहान ४ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । धरानलगायत सुनसरीमा वैशाख दोस्रो सातादेखि नै निषेधाज्ञा छ । प्रशासनले असार ७ देखि थपेर १४ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा असार १४ गते सोमबार रातिबाट सकिँदैछ ।
यसअघि १२ बजेसम्म पसल खोलिएपछि व्यवसायी र सर्वसाधारणले केही राहत महसुस गरेका थिए । दोस्रो लहरमा कोरोना भाइरसका सङ्क्रमित संख्या बढेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्ने आवश्यक कदम चाल्ने अधिकार जिल्ला प्रशासन कार्यालय प्रमुखलाई दिएको छ ।

