Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रदीप सुब्बा मृत फेला प्रकरण

हाम्रो कोशी आवाज
असार १५ २०७८, मंगलबार
धरानमा प्रदीप सुब्बा मृत फेला प्रकरण

धरानः धरानमा मृतक प्रदीप सुब्बाको परिवारले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
उनीहरुले निष्पक्ष न्यायको माग गरेका छन् । मृतकका बुबा सूर्यबहादुर सुब्बाले घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग राखे । उनले घटना भएको झन्डै अढाइ महिना बढी बितिसक्दा पनि प्रहरीले अपराधीहरु पत्ता नलगाएकोप्रति न्यायको आशा मारेको समेत बताए ।
‘झन्डै अढाइ महिना भइसक्यो, अनुसन्धान भइरहेको मात्रै भनेको सुनिन्छ तर हत्या वा अन्य के हो पत्ता लागेको छैन, न्याय मिल्छ कसरी भन्नु ?’ उनले भने, ‘प्रहरीले पनि छानविन गछौैं भनिरहेका छन् तर खोइ छानविन ?’
मृतककी बहिनी पत्रकार सम्मेलनमै भक्कानिइन्
मृतककी बहिनी प्रतिभा सुब्बा न्याय नमिलेको भन्दै पत्रकार सम्मेलनमै भक्कानिएर रोइन् । ‘न सहजै न्याय मिल्न सक्यो’, उनले भनिन्, ‘अहिले हामीलाई चित्त बुझाउनै गाह्रो भइरहेको छ ।’ उनले सत्यतथ्य छानविनको माग गरिन् ।
उनले प्रहरीको अनुसन्धानमा ढिलाइ भइरहेको भन्दै असन्तुष्ट जनाएका छन् । उनीहरुले न्यायका लागि सहयोग गरिदिन पत्रकार गुहारेका छन् । कृतिमाले भनिन्, ‘घटना स्वभाविक नभएर सुनियोजित हो, यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ भनिरहेका छौं तर यतिका दिन बितिसक्दा पनि केही क्लू नभेटिनु अझै षडयन्त्र हो कि भन्ने आशङ्का छ ।’
कस्तो अवस्थामा थियो शव ?
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञाअघि नै एक युवा अचानक बेपत्ता बने । वैशाख २७ गतेदेखि एकाएक बेपत्ता भएका थिए धरान–५ निवासी ती प्रदीप सुब्बा । तर जब निषेधाज्ञा लाग्यो त्यहीबेला (गत जेठ ५ गते) धरान–४ वैदाम खोप (दानाबारी तल) मा जङ्गलमा उनको शव भेटियो ।
स्थानीय एक महिलाले जङ्गलमा सुँगुरलाई चारो खोज्न जाने क्रममा सो शव देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले नै बताउँदै आएको छ ।
शवको टाउको चुट्टिएको अवस्थामा थियो, हात सर्लक्कै चुटिएको अवस्थामा थियो । टाउकोका अङ्ग पनि बिग्रिएका थिए । ‘शवको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक नबचोस् भनेर शव क्षतविक्षत पारिएको अनुमान लगाउन गाह्रो थिएन’, प्रत्यक्षदर्शी मृतककी आमा कविता सुब्बाले भनिन्, ‘टाउको चुट्टिएपछि प्रहरीले पनि चुटिएको टाउको पनि बोरामा हाल हाल भन्दै टाउको बोरामा हालेका थिए, त्यहीँदेखि यो योजनाबद्ध हत्या हो भन्दै आएका छौं ।’
जङ्गलको छेउछाउ बाटोदेखि केही पर शव भेटिएपछि सबै अचम्मित भएका थिए । ‘बाटोमा लडेको भए त्यो मान्छे किन कोही नहिँड्ने (पुरानो सानो गोरेटो बाटो) प्रदीप पुगे त ?’ बुबा सूर्यबहादुर भन्छन्, ‘त्यही भएर पनि यो योजनाबद्ध हत्या हो ।’
के हुनसक्छ हत्याको कारण ?
अनुसन्धान अधिकृतहरुको विश्लेषणलाई आधार मान्ने हो भने प्रदीपको हत्या भएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ । टाउको क्षतविक्षत हुनु, टाउको एकातिर, एउटा हात सहजै चुटिनु, शव भेटिएको स्थानमा भीर नहुनु, टाउकोको हड्डीमै समेत गम्भीर चोट देखिनु, हात, शव तान्दा हात र टाउको छुट्टिनु, बाटोदेखि निकै पर (हिँडेर जाँदा करिब ४० मिनेट लाग्ने ठाउँ) शव भेटिनु आदि कारणले पनि यो आशंकालाई बल पुरयाएको छ । शवलाई जुन किसिमले व्यवस्थापन गरिएको छ, त्यो हेर्दा दुई वा दुईभन्दा बढीको संलग्नता हुनसक्ने अनुमान गरिएको परिवारजनको छ ।
प्रहरी घटनास्थलसम्म पुगेर शवको पहिचान गरेर आफन्त बोलाइ पोष्टमार्टमपछि शव जिम्मा समेत लगाइसकेको छ । जेठ ७ गते शव जलाइसकेपछि आफन्तले शंकास्पद व्यक्तिहरुको नाममा किटानी जाहेरी समेत दिएका थिए तर प्रहरीले जाहेरी लिएको त दर्ता नगरेको मृतकका बुबा सूर्यबहादुरले भने । उनले जसले मोबाइल लिन बोलाएको हो उनी र सुँगुरको चारो खोज्दा देख्ने व्यक्ति नै प्रहरीले नचिनेको आरोप लगाए । ‘होइन ती चारो खोज्दा जसले देख्यो र मोबाइल लिन आइज भनेर जसले बोलायो उसलाई प्रहरीले चिनेको छैन भन्दा हामी थप चकित भएका छौं’, उनी भन्छन् ।
मोबाइल लिन गएका थिए प्रदीप
मृतककी बहिनी कृतिमाका अनुसार प्रदीप कहिलेकाहीँ घर छाडेर हिँड्ने र केही दिन हराउने गरेका थिए । त्यतिबेला परिवारले त्यतिका दिनसम्म खोजी गर्दैन थिए । ‘जहाँ गएपनि आइहाल्ने स्वभाव थियो’, उनले भनिन्, ‘त्यस्तै होला भन्ने सोंच्यौं तर यसपटक फरक भयो ।’
बहिनी कृतिमाका अनुसार प्रतीक वैशाख ७ गतेअघि आफूसँगै बस्दै आएका थिए । एकजना साथीले मोबाइल बनाइदिएको रहेछ म जान्छु भन्दै प्रदीप वैशाख ७ गते आफू बस्दै आएको घर धरानस्थित भोटेपुलबाट हिँडे । तर त्यहाँदेखि उनी घर फर्केनन् ।
उनका अनुसार प्रदीप काठमाडौं जान्छु पनि भन्दै आएका थिए । ‘मैले सोंचे दाजु काठमाडौं जान्छु भन्दै हुनुहुन्थ्यो, काठमाडौं जानुभयो होला आउनु पनि भएन,’ उनले भनिन्, ‘धेरै दिनमा पनि नआइसकेपछि खुल्दुली भयो, फोन गरयौं, फोन लागेन, सबै आफन्तकहाँ सोधिखोजी गरयौं तर कहीँ पत्ता लागेन, त्यसपछि प्रहरीलाई जानकारी दिने सरसल्लाह भयो तर दाजु कतै हुनुहुँदोरहेछ भने त मलाई नसोधी मेरो बारेमा जानकारी दिने भनेर रिसाउनुहुन्छ भन्ने डरले निवेदन दिएनौं ।’
लकडाउन पनि शुरु भइसकेकोले कहीँकतै जाने अवस्था नरहेकोले आफूहरु त्यतिकै बसेको उनले बताइन् । जहाँ मोबाइल लिन जान्छु भनेर हिँडेको थियो, त्यस व्यक्तिलाई पनि फोन गरेको र तर उसले प्रदीप त अस्ति नै हिँडिसकेको भन्ने जवाफ पाएको उनले बताइन् । कतैबाट पनि न्याय नमिलेको र प्रहरीले न्याय दिलाउनुपर्ने परिवारजनको माग छ ।
के भन्छन् प्रहरी ?
शव भेटिएका स्थान आसपासका व्यक्तिहरुसँग पनि प्रहरीले सोधपुछ गरेको जनाएको छ । शंकास्पद व्यक्तिहरुलाई पनि सोधपुछलगायतको काम गरिसकेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्ने प्रहरी पनि नियमित लागिरहेका छन् तर, अनुसन्धानले सही बाटो समात्न सकेको छैन ।
घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले शवको प्रकृति टाउको क्षतविक्षत अवस्थामा भेटिएको बताए । ‘त्यही कारण पनि केही क्लू भेट्टाउन नसकेका हौं तर पनि अनुसन्धान जारी छ ।’ उनी भन्छन् । उनले विभिन्न कोणबाट अनुसन्धान जारी राखिएको सुनाउँदै विस्तृतमा बताउन नसकिने बताउँछन् ।
केहीदिनअघि मात्रै धरान आइपुगेका नयाँ डिएसपी नरेन्द्र कुँवर घटनाबारे सुक्ष्म ढङ्गले अध्ययन गर्ने बताउँछन् । ‘म भर्खरै धरान आइपुगें, शुरुकै दिनमा केही कुराहरु त आइसकेका छन्, यसलाई फरक–फरक कोणबाट सुक्ष्म अनुसन्धान थालेर क्लू भेट्टाउने कोसिस गरिरहेका छौं ।’

प्रकाशित मिति: असार १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend