Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानमा बन्ने भयो स्मार्ट बसपार्क

हाम्रो कोशी आवाज
असार ३० २०७८, बुधबार
अन्ततः धरानमा बन्ने भयो स्मार्ट बसपार्क

धरानः अन्ततः धरानमा बसपार्क बन्ने नै भएको छ । धरान ८ स्थित तीनकुने सुन्दरवस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो । धरानमा स्मार्ट बसपार्क बनाउन ठेकेदार कम्पनीसँग सम्झौता भएको छ । सम्झौता भएसँगै १५ दिनभित्र निर्माण कार्य शुरु हुने जनाइएको छ ।
स्मार्ट बसपार्क बनाउन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबार उपमहानगरपालिका र निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको धरान उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडि बढाउने इञ्जिनियर श्रेष्ठले बताए । इञ्जिनियर श्रेष्ठका अनुसार बसपार्क करसहित गरेर २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनिसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ‘३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान ३ वर्षभित्रमा प्राप्त हुन्छ भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’
मेयर राईले उपमहानगरपालिकाले लामो समयदेखि थाति रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन पाएको बताए । धरानको विकास र समृद्धिको लागि विगत लामो समयदेखि बसपार्क निर्माण योजना थियो । अब चाँडै पुरा हुने भयो । ठूला योजनाहरुमा विभिन्न टिकाटिप्पणी, सल्लाह सुझाव, विवादहरु हुने गरेको मेयर राईको भनाई थियो । चाडोभन्दा चाडो बसपार्क निर्माण सकियो भने धरानको सुन्दरता थप झल्किने मेयर राईको धारणा छ ।
उपमेयर मञ्जु भण्डारीले ३० वर्षदेखि जनप्रतिनिधिले देखेको सपना अब पूरा हुन लागेको बताए । उपमेयर भण्डारीले पनि समयमा नै योजना सम्पन्न गर्न आग्रह गरे । निर्माण व्यवसायी गिताञ्जली जेभीका सञ्चालक सपन दासले अब १५ दिनभित्रमा काम निर्माण थाल्ने बताए । तोकिएको समयभित्र निर्माण पूरा गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

 

प्रकाशित मिति: असार ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend