Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अनुगमन

हाम्रो कोशी आवाज
साउन ८ २०७८, शुक्रबार
धरानमा अनुगमन

धरानः कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमण भएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेकोमा चिन्तित हुँदै धरानमा अनुगमन भएको छ ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोली, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, उपाध्यक्ष शिवराज श्रेष्ठ, सीताराम आचार्य, धरान उपमहानगरपालिका अनुगमन समितिका वेदप्रसाद सापकोटालगायतको टोलीले अनुगमन गर्दै मास्क खोइ अभियान सञ्चालन गरेको छ ।
प्रहरीले मंगलबार धरानका सब्जीमण्डीमा पुगेर प्रश्न गरेको छ- तपाईंको मास्क खोइ ? जनचेतनामूलक कार्यक्रमअन्तर्गत यस्तो प्रश्नसहित सचेत गराएको हो ।
कोरोनाको संक्रमण बढ्न थालेपछि धरानमा स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । धरान उपमहानगरपालिकाले सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । मास्क वितरण गर्नेले मास्क नलगाउनेलाई पहिला नमस्कार अनि मास्क वितरण गर्ने गरेको समेत देखियो ।
मास्क नलगाई हिँडेका अधिकांशलाई मास्क लगाउन अनुरोध गर्नुका साथै निःशुल्क मास्क वितरण गरिएको थियो । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक भएकाले तपाईंको मास्क खै अभियान सञ्चालन गरिएको उपमेयर भण्डारीले जानकारी दिइन् । उनले लकडाउन गर्न नपरोस् भनेर यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् ।
‘लकडाउन अन्तिम विकल्प होइन, भीडभाड कम गर्ने, व्यापारीले पनि अनुशासन कायम गर्ने, मास्क लगाइदिने हो भने कोरोना नियन्त्रण गर्न सकिन्छ, लकडाउन गर्नुपर्दैन भनेर उपमहानगरपालिका लागेको छ, त्यसैले यसमा सबै नागरिकको पनि साथ र सहयोग गर्नुको विकल्प छैन ।’ उनले खोप आइरहेको र खोपलाई पहिलो प्राथमिकता राखेको बताइन् ।
यस्तै, सर्वसाधारण, व्यवसायीको सडकमै तत्कालै कोरोना परीक्षण पनि गरिएको थियो । सब्जीमण्डीमा ३७ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । सब्जीमण्डीमा गरिएको परीक्षणमा एकजना महिलामा पोजेटिभ र माछाभौडीमा ३४ जनामा गरिएको परीक्षणमा दुईजना पुरुषमा पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।
सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गरी कोरोना संक्रमण न्यूनीकरणका लागि यस्तो अभियान चलाइएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले जानकारी दिए ।
प्रहरीले अनावश्यकरुपमा भीड नगर्न, सामाजिक दुरी कायम गर्न र कोरोना हटाउन सामूहिकरुपमा लाग्न आग्रह समेत गरेका थिए ।
यसैबीच भोलिदेखि मास्क नलगाउनेलाई दुई सय रुपैयाँ जरिवाना गरिने प्रहरीले जनाएको छ । उपमेयर भण्डारीले यस्तो अभियानलाई निरन्तरता दिइने जानकारी दिइन् ।
तस्वीरहरुः लक्ष्मण थापा, हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन ८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend