धरानः धरान-५ का स्थायी बासिन्दा प्रदीप सुब्बाको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धरान–४ पत्राङ्गबारीमा सिरान सालघारीमा आङ्बुहाङ एग्रीकल्चर एण्ड लाइभ स्टक फार्म प्रालिका सञ्चालक ४४ वर्षीय मंगलसिंह लिम्बू, फार्ममा सहयोगीकरुपमा कार्यरत २० वर्षीय भरत भुजेल र सोही स्थानमा बाख्रा फार्म सञ्चालन गर्ने ५४ वर्षीय जन्तरे भन्ने रामकुमार राई रहेका छन् । उनीहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय धरानले शुक्रबार जिल्ला अदालतबाट अनुमति लिएको थियो । प्रहरीका अनुसार शनिबारबाट लागू हुनेगरी अदालतबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरानमा नयाँ डिएसपी नरेन्द्र कुँवर आएसँगै घटनालाई फरक कोणबाट हेर्दै अनुसन्धानलाई थप तीब्रता दिएका थिए । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा मृतक परिवारले नै आरोप लगाएका व्यक्तिहरुलाई हिरासतमा लिएको हो । डिएसपी कुँवरले तीनजनाको संलग्नता देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । ‘केही घटनाले उनको संलग्नता हो कि भन्ने आशङ्का गरेका छौं’, उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले उनीहरुमाथि अनुसन्धानका लागि भन्दै अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

मृतक प्रदीप सुब्बा र पत्रकार सम्मेलनमा आफन्त । तस्वीरः फाइल हाम्रो कोशी आवाज
घटना कसरी मोडियो ?
गत जेठ ५ गते धरान–४ वैदाम खोप (दानाबारी तल) मा जङ्गलमा एक युवाको शव कुहिएको अवस्थामा फेला परेको थियो । स्थानीय एक महिलाले जङ्गलमा सुँगुरलाई चारो खोज्न जाने क्रममा सो शव देखेपछि प्रहरीलाई खबर गरेको बताएकी थिइन् ।
प्रहरी घटनास्थलसम्म पुगेर शवको पहिचान पनि गरेपछि पोष्टमार्टम गरिएको थियो । सडेको अवस्थामा फेला परेको थियो । उनको शव कोल्टे परेको अवस्थामा रहेको आफन्तले बताएका छन् । प्रहरीले शव पल्टाएर हेर्न खोज्दा शवको एउटा हात र टाउको छुट्टिएपछि परिवारजनले हत्याको आशङ्का गर्दै पत्रकार सम्मेलन समेत गरेका थिए । उनीहरुले निरन्तर घटनाबारे सत्यतथ्य बाहिर ल्याउन आवाज उठाइरहेका थिए ।
लगाएको पोशाक, खुट्टाको नङको कारणले शव चिनेको आफन्तले बताएका छन् । शवको पोष्टमार्टमपछि प्रहरीले अब शव जलाउनु भनेर भनेपछि परिवारले शुरुमा आनाकानी गरेका थिए । तर प्रहरीले सडेको शव नराख्नु, आफ्नो संस्कारअनुसार शवको व्यवस्थापन गर्दा हुन्छ, हामी यसको छानविन गछौं भनेर भनेपछि उनीहरुले गत जेठ ७ गते शव जलाएको मृतकका बाबु सूर्यबहादुर सुब्बाले भने ।
उनीहरुले घटनाको प्रकृति हेर्दा सुनियोजित अपराध प्रष्ट देखिएको दावी गर्दै आएका थिए । ‘शवको टाउकोको हड्डीमै समेत गम्भीर चोट देखिनु, हात, शव तान्दा टाउको छुट्टिनु, बाटोदेखि निकै पर (हिँडेर जाँदा करिब ४० मिनेट लाग्ने ठाउँ) शव भेटिनु आदि कारणले पनि घटना रहस्यमय, सुनियोजित, योजनाबद्ध ढङ्गले हत्या गरिएको भन्ने हामीलाई लागेको हो’, बहिनी कृतिमा सुब्बाले भनिन् ।
‘हामीले भन्दै आएका थियौं, लडेरै मरेको हो एक महिनामै शरीरको विभिन्न अङ्ग त चुट्टिदैन नि’, मृतककी बहिनी कृतिमा भन्छिन्, ‘त्यही भएर जसले मोबाइल लिन बोलाएका थिए, उनीमाथि अनुसन्धान होस् भनी हामीले भन्दै आएका थियौं ।’
बहिनी कृतिमाका अनुसार प्रतीक वैशाख ७ गतेअघि आफूसँगै बस्दै आएका थिए । एकजना साथीले मोबाइल बनाइदिएको भन्दै प्रदीप वैशाख ७ गते आफू बसेको घरबाट हिँडेका थिए तर त्यहाँदेखि उनी घर फर्केनन् ।


पत्रकार सम्मेलनमा आफन्त ।