धरानः अवैधरुपमा खोला उत्खनन गरिरहेको अवस्थामा धरानको सर्दु खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
धरान–१७ स्थित धरान–चतरा सडक मार्गको सर्दुखोला पुलमुनि पिल्लर नजिकबाट अवैधरुपमा नदीजन्य पदार्थ रोडा, ढुंगा, गिटी, बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी, इलाका प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
नगर प्रहरीका अनुसार स१त ५२९४ र को२त ६५१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि धरान उपमहानगरपालिकामा बुझाइएको छ । ट्याक्टर कसको भन्ने खुल्न सकेको छैन । ट्याक्टर चालक, सहचालक भने फरार भएको जनाएको छ । अवैधरुपमा खोला उत्खनन गर्ने जुनसुकै सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।