Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिक्री भएन याक

हाम्रो कोशी आवाज
साउन १८ २०७८, सोमबार
बिक्री भएन याक

फुङलीङः चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन ।
कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्दे ग्याबु शेर्पा परिवारको दिन याकगोठमा बित्छ । उनको पुख्र्यौली पेशा नै हो याकपालन । शेर्पासँग ६० वटा डी (याकको माउ) छन् । उनले याक गोठमै ६५ वर्ष बिताइसकेका छन् । याङ्मागाउँमा ११ घरपरिवारको बसोबास छ । सबैको मुख्य पुख्र्यौली पेशा याकपालन हो ।
यहाँका याक चीनको विभिन्न क्षेत्रमा निर्यात हुँदै आएको छ तर कोभिडका कारणले दुई वर्षयता याक चीनमा निर्यात हुनसकेको छैन । चीनको नाका दुई वर्षदेखि बन्द भएपछि यहाँका बासिन्दाले याक बिक्री गरेर आम्दानी लिनसकेका छैनन् । याक चीन निर्यात नहुँदा याङ्मा बस्तीका समुदायमा आर्थिक सङ्कट लागेको स्थानीयवासी ठावा शेर्पाले बताए ।
फिन्जो शेर्पाका परिवार नै अहिले याक गोठमा छन् । उनको घर याङ्मा हो तर अहिले घरमा ताल्चा लगाएर गोठमै याक बाछा स्याहार्न, दुहुनो याक दुहुन र छुर्पी बनाउँदै दिन बित्छ । उनले पनि याक गोठबाट आम्दानी लिन सकेका छैनन् । दुई वर्षअगाडि ९ देखि १२ वटासम्म याकका बाछादेखि बयस्क याक चीनमा बिक्री गर्दै आएको शेर्पाले बताए । विगतमा याक बिक्री गरेर वार्षिक रु. नौ लाखदेखि रु. १५ लाखसम्म आम्दानी लिँदै आएको भएपनि दुई वर्षयता याकबाट आम्दानी लिन नसकेको शेर्पाले बताए ।

एउटा याक रु. एक लाख ५० हजारसम्ममा चीनका निर्यात हुने गरेको याङ्माका स्थानीय याकपालक टाँसी फिन्जो शेर्पाले बताए । चीनका नागरिकले याकको बाछापालनका लागि खरिद गरेर लाने गरेको शेर्पाले बताए । वयस्क याक भने मासुका लागि खरिद गर्ने गरेको स्थानीयवासीको भनाइ छ । याक गोठबाटै राम्रो आम्दानी लिँदै आए पनि अहिले कोभिडका कारण नाका बन्द भएपछि आर्थिक सङ्कट बेहोर्दै आएको स्थानीयवासी छाम्जे शेर्पाले बताए ।
समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने हिमाली बस्ती भएकाले यस क्षेत्रमा खेतीपाती हुँदैन । चिसो र हिउँका कारणले याङ्मा क्षेत्र याकपालनका लागि अनुकूल रहेको छ । याङ्माका प्रत्येक परिवारको याक गोठ छ । यहाँका समुदायको मुख्य आयस्रोत पशुपालन हो । याकको बाछा, वयस्क याक, घ्यू, छुर्पी, चमर (याकको पुच्छर) चीनको विभिन्न क्षेत्रमा राम्रो मूल्यमा निर्यात हुँदै आएको छ । याकको बाछा रु. एक लाखसम्ममा चीनमा बिक्री हुने गरेको सोनाम शेर्पाले बताए । याकको घिउ र छुर्पी प्रतिकिलो रु. एक हजार २०० मा बिक्री हुने गरेको छ । पशुजन्य उत्पादनबाट याङ्मागाउँका समुदायले विगतदेखि नै जीवन निर्वाह गर्दै आएका छन् ।
कोभिड–१९ का कारणले चीनको टिप्ताला नाका दुई वर्षदेखि बन्द भएसँगै याङ्माका समुदायमा आर्थिक सङ्कट लाग्न थालेको स्थानीयवासीको भनाइ छ । वितगमा याक बिक्री गरेर वर्षभरि पुग्ने आवश्यक खाद्यान्न चीनबाट आयात गरिँदै आएको थियो तर दुई वर्षयता ताप्लेजुङको सदरमुकाम फुङ्लीङ बजारदेखि खरिद मूल्यभन्दा तीन गुणा बढीमा ढुवानी गर्नुपरेको स्थानीयवासीको भनाइ छ । कोभिडका कारण दुई वर्षदेखि चीन टिप्ताला नाका बन्द हुँदा चीनसँगको सीमावर्तीका समुदायले विभिन्न समस्या खेप्दै आएका छन् । ताप्लेजुङको ओलाङ्चुङगोला र याङ्मा क्षेत्रका बढी प्रभावित हुँदै आएको छ ।

प्रकाशित मिति: साउन १८ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend