धरानः मुलुकले घोषित लोडसेडिङबाट मुक्ति पाएको झन्डै चार वर्ष नाघिसकेको छ । बिजुली भने छिनछिनमा झ्याप्प–झ्याप्प जाने गर्छ । कुनै बार त लामो समयसम्म बिजुली आउँदैन । विद्युत प्राधिकरणलाई सोध्दा लोडसेडिङ होइन, मात्रै वितरणमा समस्या रहेको बताउँछ ।
धरानमा बिजुली गइरहने समस्या थपिँदै गएको छ । झयाप्प झ्याप्प बिजुली गइरहँदा कतिपयले सामाजिक सञ्जालमा कुलमान घिसिङ चाहिएकै हो भनेर प्रश्न समेत गरिरहेका छन् ।
धरानमा बिजुली अनियमित बनेको छ । समयमा बत्ती गइरहने समस्याले धराने उपभोक्ता आजित बनेका छन् । विद्युतमा हुने गडबढीले अनलाइन कक्षा लिइरहेका विद्यार्थी बढी मारमा पर्न थालेका छन् । अभिभावकले पनि विद्युत गडबढीले विद्यार्थी मारमा पर्न थालेको गुनासो गर्न थालेका छन् । ‘अहिले त लाइन गएको गयै गर्छ,’ धरान-१२ का मञ्जु श्रेष्ठले भनिन्, ‘अनलाइन कक्षा लिइरहेका विद्यार्थी सबैभन्दा बढी मार बालबालिका परिरहेका छन् ।’
उनले अनलाइन कक्षा बन्द हुँदा विद्यार्थी अर्कैतिर मोडिने समस्या थपिने थालेको बताइन् । ‘लाइन गयो भनेपछि बालबालिका अर्कोतिर खेल्न थाल्छन्, बत्ती कतिबेला आउने हो पत्तो नहुँदा पढाइ नै छोड्लान् कि भन्ने चिन्ता थपिन थालेको छ ।’ उनले भनिन् ।
घरीघरी विद्युत गइरहने समस्याले कम्प्युटर पनि बिग्रिँदै गएको व्यवसायी बताउँछन् । ‘झ्याप्प बिजुली गइरहँदा कम्प्युटरलगायत अन्य इलेक्ट्रोनिक्स सामग्री बिग्रिने समस्या भइरहन्छ’, एक व्यवसायी नाम नछाप्ने शर्तमा भन्छन्, ‘यस्तो समस्या कहिलेसम्म हो ?’
गत शनिबार विद्युत प्राधिकरणले धरानमा साढे ७ बजेदेखि ४ बजेसम्म बिजुलीको लाइन काट्यो । सूचना नै जारी गरेर दुहवीमा मर्मतका लागि भन्दै विद्युत काटिने जानकारी गरायो । स्थानीयबासीले भने धरानमा दिइने विद्युत् दुहवी, विराटनगरका उद्योगलाई दिन थालेकोले लाइन काटेको भनेर सूचनाको विश्वास गरेनन् । ‘खै दुहवीमा मर्मत भनिएको छ’, एक उपभोक्ता भन्छन्, ‘हामीलाई त विश्वास नै छैन, विराटनगरमा नियमित लोडसेडिङ सुनिएको छ, कतै औद्योगिक क्षेत्रलाई बिजुली दिन धरानमा काटिएको त होइन ?’
किन जान्छ सर झ्याप्प झ्याप्प बिजुली ? हाम्रो प्रश्न गराइ थियो । धरानस्थित विद्युत प्राधिकरण शाखाका प्रमुख प्रताप बरालले जवाफ फर्काए– अन्डरग्राउण्ड तार नबिछ्याएसम्म धरानमा बिजुली अनियमित भइरहन्छ त । उनी सडक विस्तार, मर्मत आदिका कारणले पनि विद्युत् अनियमित बनेको बताउँछन् । ‘लोडसेडिङ त हुँदै होइन’, उनले भने, ‘धरानमा अन्डर ग्राउण्ड तार बिछ्याउने कार्य भएपछि यो समस्या सहजै हट्छ ।’ उनले थपे, ‘अर्को समस्या भनेको मर्मत सम्भार गर्दा बिजुली गइहाल्छ नि ।’
उनले बिजुलीको तारमा चरा आएर बस्दा, ठोक्किँदा पनि यस्तो समस्या भएको हुनसक्ने भन्दै टारे । ‘बिजुलीको तारमा चरा आएर बस्दा, ठोक्किँदा पनि बिजुली झ्याप्पै गइहाल्छ ।’ उनले भने ।






