धरानः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेट (निफ्रा) ले काठमाण्डौको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन स्काई वाक टावरमा लगानी गर्ने भएको छ ।
निफ्राले बैंकले दुईवटै परियोजनाहरु निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गर्ने भएको हो । बैंकले दुवै परियोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा सीमा स्वीकृत गरेको छ । सोमबार निफ्रा र परियोजना निर्माणकर्ता बोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतका बैंकको पदाधिकारीहरुको उपस्थिति थियो भने परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल, सञ्चालक पदमप्रसाद न्यौपाने, तेजबहादुर सिंह, खेमराज न्यौपानेलगायतको उपस्थिति थियो ।
‘स्काई वाक टावर’परियोजना मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणा हो । धनकुटाको भेडेटारमा निर्माणाधीन ‘स्काई वाक टावर’ सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागिएको हो ।
प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौताअनुरुप निर्माण हुन लागेको यस परियोजनाले देशको पूर्वी भूभागको मुख्य पर्यटकीयस्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन मद्दत गर्नेछ ।
भेडेटारको चाल्र्स भ्यू टावरमा स्काईवाक निर्माण हुने भएको हो । भेडेटारको चाल्र्स भ्यू टावरमा निर्माण हुने स्काईवाक दक्षिण एसियाकै पहिलो साहसिक पर्यटकीय परियोजना पनि हुनेछ ।
परियोजनामा २० प्रतिशत स्थानीयको पनि लगानी रहेन छ । स्काईवाकको उचाइ १०० मिटरदेखि ५०० मिटरसम्म हुनेछ भने ४ मिटर चौडाइ हुनेछ । साथै, घुम्तिमा १० मिटर रहनेछ । परियोजनाले प्रत्यक्ष र अप्रत्यक्षरुपमा १ हजार भन्दा धेरैले रोजगारी पाउने अपेक्षा गरिएको छ भने साँगुरीगढी गाउँपालिकालाई साहसिक पर्यटनको हब पनि बनाउने पर्यटनकर्मीहरुको भनाई छ ।
काठमाण्डौको कमलादीमा निर्माणाधीन स्काई वाक टावर ७८ मिटर अग्लो हुने छ । टावरमा योगा स्थल, रेस्टुरेन्ट लगायतका मनोरञ्जनात्मक क्रियाकलापका संरचना तयार हुनेछन् । देशकै अग्लो टावरबाट काठमाण्डौ उपत्यकाको दृश्यावलोकन गर्न सकिने छ ।









