धरानः धरानको भानुचोकस्थित एक घरमा आगलागी भएको छ ।
घण्टाघर पूर्वपट्टि रहेको भुपेन्द्र परालीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । भानुचोकस्थित घण्टाघर पूर्वतिर साधना भवन मास्तिर रहेको घरमा आगलागी हुँदा केही पसलहरु जलेका छन् । अहिले धरानका चारवटै दमकलले आगलागी नियन्त्रणमा लिएको छ ।
परालीको घरमा रहेको २ वटा कपडा पसल जलेर पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनले कोपिला श्रेष्ठ र शशिकला श्रेष्ठको रेडिमेड फेन्सी पसलमा धेरै क्षति पुगेको बताए । ‘दुईवटा पसल जलेको पाइयो, अन्यको क्षतिको विवरण आउन बाँकी छ’, उनले भने ।
उनले आगलागी नियन्त्रणमा आइसकेको बताए । धरानको दमकल, स्थानीयबासीको पहलमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । ‘कति क्षति भयो र के कारणले आगलागी भएको हो खुल्न सकेको छैन’, उनले भने ।



