धरानः नेपाल सहरी विकास परियोजनाले पूर्वका विराटनगर–धरान–दमक करिडोरका रुपमा पहिचान गरेको छ ।
यस्तै, पश्चिम बुटवल–भैरहवा–लुम्बिनी करिडोर, प्रदेश नं. ३ मा हेटौडा करिडोर, पश्चिममा नेपालगन्ज–कोहलपुर–सुर्खेत करिडोर, त्यसै सुदूर पश्चिममा धनगढी–अत्तरिया–भिमदत्त करिडोर र मधेसमा धनुषा–बर्दिबास करिडोर सञ्चालन गर्ने तयारी रहेको सहरी विकास तथा भवन निमार्ण विभागका वरिष्ठ इन्जिनियर सुमन सालिकेले जानकारी दिएका छन् ।
जसमा पूर्वको विराटनगर–धरान–दमक कोरिडोर, पश्चिम बुटवल–भैरहवा–लुम्बिनी कोरिडोर र प्रदेश नं. ३ मा हेटौडा करिडोरको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । पहिलो चरणमा धरान–इटहरी–विराटनगर र बुटवल–भरहवा–लुम्बिनी करिडोरको काम अघि बढाइएको हो ।
आर्थिक करिडोरले सो स्थानको समग्र विकासमा मद्दत गर्छ । यसमा रोड करिडोर समेत पर्छ । मुख्य सहर वाट एक घण्टासम्म पुग्ने दुरी यसले समेट्छ । जस्तैः धरानबाट एक घण्टामा पुग्ने क्षेत्र यसले समेट्ने गर्दछ । किनकि धरानमा नै बसेर काम गर्ने सम्भव हुँदैन एक घण्टाभित्र धरान पुग्न सक्ने ठाउँको विकास भयो भने गाडीको यात्रा गरेर पनि काम गर्न सम्भव हुने गर्दछ । यसको लागि मुख्य सहरको मात्र विकास नगरी त्यसको वरपरका क्षेत्रको पनि विकास गर्नु पर्ने हुन्छ ।
नेपालगन्ज–कोहलपुर–सुर्खेत करिडोर र धनगढी–अत्तरिया–भिमदत्त करिडोरको अध्ययनका लागि परामर्शदाता आह्वान गर्ने काम भएको छ । धनुषा–बर्दिबास कोरिडोरको चालु आर्थिक वर्षमा अध्ययनको काम सुरु गर्ने कोसिसमा रहेको उनले बताए ।
अहिले अध्ययन सकिएका कोरिडोरको डिपिआरको काम सुरु भइरहेको छ । कोरिडोरको निर्माण सम्पन्न गर्न लगभग १५–२० वर्षको लक्ष्य राखेर बनिरहेको हुनाले सम्पन्न गर्न लामो समय लाग्ने उनले बताए ।
अध्ययन र डिपिआर तयार हुने सालिके बताउँछन् । गत वर्ष सहरी कोरिडोर आयोजनाको लागि २३ करोड बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये २३ लाख २० हजार खर्च गरेको उनले जानकारी दिए ।
सहरी करिडोरको मुख्य उद्देश्य भनेको सहरी अर्थव्यवस्थालाई बढी चलायमान गर्न टेवा पुरयाउने हो । यसमा लगानीलाई प्राथमिकतामा राखिन्छ ।
भारतले नयाँदिल्लीदेखि मुम्बईसम्म लगायत अन्य धेरै करिडोर निर्माण गरेको छ भने युरोपेली संघका ग्य्राभस् र ब्लू बनाना मोडेलका सहरी करिडोर विश्वका केही देशमा चर्चामा छन् । पहिलोपटक गर्न लागिएको सहरी करिडोरलाई सही आकार दिन सकिए यसले नेपाललाई नयाँ दिशा दिने विश्वास लिइएको छ ।









