धरानः सुनसरीमा साउनभरमात्रै निषेधाज्ञा थपिएको छ । वैशाख दोस्रो हप्तादेखि शुरु भएको निषेधाज्ञाको म्याद शुक्रबार अर्थात् २९ गते राति १२ बजेदेखि सकिँदैछ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिएमसीको बैठकले सो निर्णय गरेको हो । उनका अनुसार ३२ गतेपछि नयाँ मोडालिटीमा लकडाउन हुनेछ । ‘थोरै समयका लागि निषेधाज्ञा थपेका हौं’, उनले फोन सम्पर्कमा भने, ‘नयाँ मोडालिटी बनाएर जाने तयारीमा रहेको हुनाले थोरै समय निषेधाज्ञा थपेका हौं ।’
उनले धरानलगायत सुनसरीमै पनि पूर्ण लकडाउन गर्न सक्ने सङ्केत गरे । ‘धरानको विषयमा बढी कुरा उठिरहेको छ’, उनले भने, ‘त्यही भएर नयाँ मोडालिटीमा पूर्ण लकडाउन पनि हुनसक्छ, ३२ गते सबै पक्ष बसेर निर्णय गर्छौं ।’
यता धरान उपमहानगरपालिकाका मेयर तिलक राईले १५ दिन पूर्ण लकडाउन गर्न सकिने बताउँदै आएका छन् । उनले साउन सातादेखि लकडाउन गर्न सकिने भन्दै आएका छन् भने व्यवसायी र सर्वसाधारणले ‘लकडाउन नै विकल्प होइन’ भन्दै आएका छन् ।







