ताप्लेजुङः नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताजस्ता विशेषतायुक्त देश हो । हामी नेपाली भएको नाताले नेपालको परिचय दिँदा यही शब्दबाट शुरु हुन्छ ।
दुई वर्षभन्दा लामो समयसम्ममा पनि कोभिड–१९ नियन्त्रणमा आउन नसक्दा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिकहरु खुम्चिँदै गएको छ । विभिन्न विद्यमान भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा मानवीय स्रोत, साधन र सम्पदाले यहाँका विभिन्न क्षेत्र, उपक्षेत्र र स्थानबीच विभिन्नता एवं विषमतापूर्ण स्थितिको बोध हुनुका साथै हरेक क्षेत्र र स्थानहरूमा अन्तर्निहित अनगिन्ती प्राकृतिक स्रोतहरूले नेपालको महत्वलाई देश विदेशसम्म फैलिएको छ ।
आफ्नो जाति विशेष, धर्म विशेष, भाषा विशेष छुट्टै मौलिकता पहिचानले सिङ्गारिएको नेपाली समाज यसैमा गौरवान्वित महसुस हुनु यसको सकारात्मक पक्ष हो । भौगोलिकरूपले यो मुलुक हिमाल, पहाड र तराईमा विभाजित छ । वास्तवमा यहाँको यही विविधता नै हाम्रो पहिचान एवं सम्पदाको स्रोत पनि हो । तर कोभिड–१९ संक्रमण नियन्त्रणमा आउन नसक्दा सांस्कृतिक तथा मानवीय स्रोत, साधन र सम्पदाको पहिचान खुम्चिँदै गएको छ ।
यस्तै, ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा लाखे जात्रा विशेषगरी नेवार समुदायले मात्रै नभएर सबैको साझा एक पर्व मान्दै आएको पर्व यस वर्ष कोभिडका कारणले लाखेजात्रा खुम्चिएको छ । जिल्लामा नेवार समुदाय मात्रै नभएर अन्य जातजातिले पनि साझा पर्वको लाखे जात्रा मनाउँदै आएको यसवर्ष जात्रा नमनाउने निर्णय भएको नेपाल भाषा तथा साँकृतिक समाजका निर्वमान अध्यक्ष निरज श्रेष्ठले बताए ।
नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखेजात्राको रौनकले यतिबेला ताप्लेजुङको सदरमुकामका चोक, गल्ली, बजारहरू गुञ्जायमान बन्ने भएको छ । नेवार समुदायका अग्रज तथा युवाहरू भेला भएर लाखेजात्रामा विगतका वर्षहरुमा ताप्लेजुङ सदरमुका फुङलिङ बजारमा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यङ्ग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा हुन्थ्यो तर यस वर्ष भनै कुनैपनि कार्यक्रम नभएको नेपाल भाषा तथा साँकृतिक समाजले जनाएको छ । स्थानीय युवाहरू संस्कृति र परम्परा संरक्षणको अभियानस्वरूप कृष्ण शुक्लपक्षको नाग पञ्चमीदेखि ताप्लेजुङमा जिल्लाको सदरमुकाम फुङलिङ बजारमा नेपाल भाषा तथा सांस्कृतिक समाजका अगुवाइमा एक महिना प्रत्येक वर्ष लाखे जात्रा प्रदर्शन गर्दै आएकोमा कोभिडको कारणले दुई वर्ष यता कार्यक्रम हुन नसकेको हो ।
नेवार समुदायमा प्रचलित लाखे नाच ताप्लेजुङमा निकै लोकप्रिय छ । विस्तारै सरोकारवाला र स्थानीय सरकारले आर्थिक रुपमा बजेट छुट्याउन थालेको नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष शंगर श्रेष्ठ बताए ।
ताप्लेजुङको सदरमुकाममा मात्र नभएर विगतमा सिदिङवा गाउँपालिकाको साब्लखु बजार, मेरिदेन गाउँपापिकाको दोभान बजार, आठराई त्रिवेणी गाउँपालिको फूलबारी गाउँ र मैवाखोला गाउँपालिकाको साघुँ गाउँमा समेत लाखे जात्रा लाग्र्दै यसवर्ष जात्रा नलागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । लाखे जात्रा द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमूना भएको पुराना बुढापाकाको भनाइ छ ।










