धरानः धरानका कलाकारहरुले धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।
मेयर तिलक राईले ज्ञापनपत्र बुझ्दै सङ्घीय सरकारकै निर्देशनमै निषेधाज्ञा जारी रहेकोले केही विकल्पबारे छलफल गर्न सकिने बताए । नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी, चलचित्रकर्मी, प्राविधिक, मोडलहरूले धरान उपमहानगरपालिका पुगेर मेयर राईलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले धरान उपमहानगरपालिकामा भेला भएर ज्ञापनपत्र बुझाएका थिए । धरानमा सबै गतिविधि सञ्चालन भइरहेको तर कलाकारहरु घरमै थुनिएर बस्नुपर्ने बाध्यता रहेको कलाकारहरुले गुनासो गरेका छन् ।
सबै क्षेत्र खुल्ला रहेको तर कला क्षेत्रलाई भने रोक लगाइएकोले ज्ञापनपत्र बुझाइएको कलाकार नगेन्द्र राईले जानकारी दिए । ‘कला क्षेत्रलाई भने रोक लगाएकोले सरकारी मापदण्डअनुसार सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न पाउनुपर्छ भनी धरान उपमहानगरपालिका ज्ञापनपत्र बुझाइएको हो’, उनले भने, ‘मागलाई बेवास्ता गरिए आन्दोलनमा समेत जानेछौं ।’
कोरोनाका कारण सबै व्यवसाय, यातायात खुलेको तर कलाकार क्षेत्रका व्यक्तिहरु त्यतिकै घरमै थुनिएर बस्नुपरेको बाध्यता रहेको कलाकार सन्तोष तामाङ बताउँछन् । ‘न नृत्यका गतिविधि छन् वा अन्य’, उनले भने, ‘कलाकार कहिलेसम्म यसरी मारमा परिरहने हो ।’ देशको गहनाको रुपमा चिनिएको कलाकारका गतिविधि ठप्प हुँदा हातमुख जोर्नै समस्या भएको उनको भनाइ छ ।
गायक भक्तिराज राईले इन्डियन आइडल, भ्वाइस अफ नेपालजस्ता थुप्रै कार्यक्रम भइरहेपनि यहाँ भने रोक लगाइनु दुःखद् रहेको बताए । ‘हामीले पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर विविध कार्यक्रम गर्न पाउनुपर्छ’, उनले भने, ‘त्यही माग लिएर उपमहानगरपालिका जाँदैछौं ।’

उनीहरुले स्वास्थ्य मापदण्ड अपनाएर निर्वाधरुपमा कला क्षेत्रका गतिविधि सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर होटल, व्यवसाय, यातायात लगायत अन्य क्षेत्र चलिरहँदा कलाक्षेत्रलाई पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ । नेपाल चलचित्र महासङ्घ १ नम्बर प्रदेशका अध्यक्ष अरुण प्रधानले बजार, यातायात सबैतिर भीडभाड छ तर कलाक्षेत्रका गतिविधि चाहिँ सरकारले हुन नदिएकोप्रति आफूहरुको असहमति रहेको बताए । ‘कलाकार देशका गहना हुन् भने पनि राज्यले कलाकारलाई उपेक्षा गरेको छ’, उनले भने, ‘अब कलाक्षेत्रमा लाग्ने सबै एकजुट हुन आवश्यक भइसकेको छ ।’
नाट्यकर्मी विजय सुब्बाले अन्य व्यवसाय चलायमान भई रहँदा कलाकारिता क्षेत्रलाई ठप्प पार्न नहुने बताउँदै स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्नेमा बताए । व्यवसायिकरुपमै कलाक्षेत्रमा लागेकाहरुलाई लामो समय बन्द हुँदाखेरी फेरि शुन्यबाट शुरु गर्नुपर्ने अवस्था आएको सुब्बाले बताए ।
सुन्दर साउण्ड सर्भिस धरानका सञ्चालक सुन्दर श्रेष्ठले होटल व्यवसाय निर्वाधरुपले चलिरहँदा कलाकारिता क्षेत्रका लागि नगरपालिकाले कुनै ध्यान नदिएको गुनासो गरे । उनले भने, ‘कलाकारिता क्षेत्र सुचारु भयो भने मात्र साउण्ड सर्भिसको काम आउँछ, कलाकारिता क्षेत्र ठप्प हुँदा हामी पनि मारमा छौं ।’
गरिमा डान्स सेन्टरका सञ्चालक मणिकुमार लिम्बूले विगत झण्डै २ वर्षदेखि लगातारको बन्दले कतिपय कलाकारहरु यस क्षेत्रबाट विस्थापित हुँदै गएकाले अब भने सञ्चालन हुने वातावरण बनाउन स्थानीय सरकारसँग माग गरे ।

प्रज्ञा प्रतिष्ठान धरानका सदस्य सुरेश श्रेष्ठले सबै कलाकार एकजुट हुनुपर्ने बताउँदै निर्वाधरुपले कार्यक्रम गर्नको लागि वातावरण बनाउन लागिपर्नुपर्ने बताए । मिस स्टेट–१ कि कोरियोग्राफर एवम् मोडल मेरिना तुम्साले सबै जना एकजुट भएर स्थानीय सरकारलाई कार्यक्रम गर्ने वातावरण सिर्जना गर्न दबाब दिनुपर्ने बताइन् ।
राजनीतिक दलले हजारौको संख्यामा ¥याली, जुलुस गरिरहँदा मौन हुने सरकार कलाकारहरुलाई भने कार्यक्रम गर्न नदिएको पूर्वाञ्चल बागिना कलाकेन्द्र धरानका अध्यक्ष एवम् पूर्वाञ्चल सिङ्गिङ स्टार, मिस स्टेट–१ का आयोजक भक्तिराज राईले बताए । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम गर्न पाउनुपर्ने अध्यक्ष राईको माग छ ।











