धरानः धरान उपमहानगरपालिकाको वडा नं. १९ देखि रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडक निर्माण गर्ने भएको छ ।
शुक्रबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र जिल्ला वन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठसहित बसेको त्रिपक्षीय छलफलले छोटो दुरीको हरियाली मार्ग सडक निर्माण गर्ने समझदारी भएको हो ।
सो सडकको लागि संघीय संसदको सांसद जयकुमार राईले केही बजेट समेत छुट्याएका थिए । ७ किलोमिटर बढी रहेको सो सडकको १५ फिट चौडाई छ । धरान–रामधुनी जोड्ने हरियाली मार्ग र मदन भण्डारी सहायक राजमार्ग जोड्ने छोटो दुरीको सडक हुनेछ भने तल्लो क्षेत्रमा उत्पादन भएका कृषि उपजहरु बजारसम्म ल्याउन छिटो र सहज हुनेछ ।
रामधुनी नगरपालिकालगायत तल्लो भेगका मानिसहरु र बिरामी बोक्ने एम्बुलेन्सलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म छिटो आइपुग्न सहज हुनेछ । धरानबाट इटहरी जाने राजमार्ग कुनै कारणले समस्या भएमा, बन्द भएमा रेल्वै लिक सडक समेत हुनसक्ने बताएको छ ।
हाल सो सडक ट्रयाक मात्र सिङ्गल लेन ग्राभेल रहेको हुँदा त्यसको स्तरोन्नति गर्ने सम्बन्धमा शुक्रबार बसेको त्रिपक्षीय बैठकमा बृहत छलफल भएको थियो । धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाले समन्वय गरेर सडक निर्माण गर्ने भएको छ । सो सडक सामुदायिक वन क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा समेत पर्ने भएकाले त्यसको स्तरोन्नति गर्न दुवै नगरपालिकाको कार्यपालिकाबाट निर्णय गर्ने जनाएको छ ।
दुवै नगरपालिकाका प्राविधिक समेत रहेको एक कार्यदल गठन गरी सामुदायिक वनहरु, डिभिजन वन कार्यालय र अन्य सरोकारवाला निकायहरुसँग समेत समन्वय गरी अघि बढाउने निर्णय गरेको छ । साथै, वनक्षेत्र भएकाले नगरपालिकाबाट आईई समेत गराउने निर्णय गरेको छ ।