Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयरको सेवा-सुविधाले दिइने ‘गिरिराज आचार्य पत्रकारिता पुरस्कार’ को राशी २० हजार

हाम्रो कोशी आवाज
भाद्र १३ २०७८, आइतबार
धरानका मेयरको सेवा-सुविधाले दिइने ‘गिरिराज आचार्य पत्रकारिता पुरस्कार’ को राशी २० हजार

धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’को राशी २० हजार रुपैयाँको रहने भएको छ ।
नेपाली कांग्रेस र नेपाल प्रेस युनियनको सहकार्यमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्न कांग्रेस धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले उपमहानगरपालिकाबाट प्राप्त हुने सेवा, सुविधा भत्ताको रकमबाट कुल २ लाख रुपैयाँ प्रदान गरी अक्षयकोष स्थापना गरिएको छ ।
गएको माघमा सो पुरस्कारको घोषणा भएतापनि कोरोना महामारीका कारण संस्थागत प्रकृया अघि बढ्न सकेको थिएन । शनिबार भदौ १२ गते कांग्रेस र युनियनका पदाधिकारीहरुको संयुक्त भेलाले पुरस्कार कोषको कार्यविधि सर्वसम्मतिले पारित गरी अक्षयकोषको सञ्चालक समिति गठन गरेको छ । समितिमा संयोजकः मातृकाप्रसाद नेपाल, सदस्यः मुरारी भट्टराई, पञ्चकला राई, हर्ष सुब्बा र सदस्य सचिवमा शान्ता निरौला रहेकी छन् ।
अक्षयकोष घोषणा गर्दा एकलाख ५० हजार घोषणा गरिएतापनि त्यसमा ५० हजार थप गरी २ लाख रुपैयाँ पुरयाइएको छ । कोषको रकम धरान–२ स्थित गोर्खा सहकारी संस्था लिमिटेडमा खाता खोली राखिने निर्णय गरिएको छ । पुरस्कार यसैवर्षदेखि प्रदान गर्न तत्काल कोषको व्याज प्राप्त नहुने भएतापनि पहिलो पुरस्कार संस्थापकबाट छुट्टै रकम प्रदान गर्ने भएको छ । पुरस्कारका लागि उपयुक्त पत्रकार चयन गर्न यसैहप्ता निर्णय गरिने बताइएको छ ।
संयोजक नेपालका अनुसार कार्यविधिमा पुरस्कारका लागि पत्रकार चयन गर्न एकपटकका लागि ५ सदस्यीय मूल्यांकन समिति गठन गर्नेछ । समितिले पुरस्कार प्रदान गर्न पत्रकार चयन गरी सञ्चालक समितिलाई सिफारिस गर्नेछ ।
कार्यविधि अनुसार पुरस्कारका लागि (क) धरान तथा सुनसरी जिल्ला लाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल रहेको हुनुपर्नेछ । (ख) मूलतः विकासमुखी, लोकतन्त्रको सबलीकरण, संघीयतामा स्थानीय तहको भूमिका, स्थानिय आर्थिक, सामाजिक, सांस्कृतिक तथा महिला, बालबालिका, दलित, अपाङगता विषयमा खोजमुलक पत्रकारिता गर्दै आएको हुनुपर्ने उल्लेख छ ।
संस्थापक तिलक राईको सभापतित्वमा सम्पन्न संयुक्त भेलामा सम्मानित अग्रज पत्रकार गिरिराज आचार्य, कांग्रेस क्षेत्रीय सभापति शुरेसमान श्रेष्ठ, क्षेत्रीय सचिव मुरारी भट्टराई, नगर सचिवद्वय श्याम पोखरेल, युवराज शंकर, उपसभापति राजेन्द्र राई, सहसचिव महिला विभाग प्रमुख पञ्चकला राई, कोषाध्यक्ष सुवर्ण श्रेष्ठ लगायत प्रेस युनियनका संस्थापक केन्द्रिय सदस्य हर्ष सुब्बासहित पदाधिकारीहरु उपस्थित थिए ।

प्रकाशित मिति: भाद्र १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend