विराटनगरः एमाले सचिव भीम आचार्यको नेतृत्वमा गठन भएको प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको छ। माधव नेपाल पक्ष छाडेर केपी ओली पक्षमा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए ।
एमाले औपचारिक रुपमा विभाजन भएसँगै निर्वाचन आयोगले २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो। जसअनुसार प्रदेश १ का १० सांसदले बुधबार एकीकृत समाजवादी रोजेपछि प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको हो। मुख्यमन्त्री आचार्यले संसदमा सामना गर्ने बताएका छन् । बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका हुन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिनेसमेत बताएका छन् ।
आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ । एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूप्रति भने आचार्यले उनीहरूले आफनो अधिकार प्रयोग गरेको टिप्पणी गरे ।
प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन् । जसमध्ये एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एकएक जना सांसद छन् ।
बहुमतका लागि प्रदेश सभामा ४७ मत चाहिन्छ । यस्तो अवस्थामा साना दुई दलको समर्थनले पनि एमालेलाई सरकार बचाउन पर्याप्त देखिँदैन । आजको एक महिनाभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।