धरानः मंगलबार धरानको पुतली लाइनस्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ धराने गायक ज्ञान सुब्बाको गीतको छायाङ्कन भइरहेको थियो ।
वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राई सो म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए ।
उनले भने, ‘मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ लाग्न सक्छ ।’ धरान र चतराको विभिन्न स्थानमा दुईदिन लगाएर सो म्युजिक भिडियोको छायाङ्कन गरिएको थियो । ‘आखिर के को लागि होला ?’ बोलको सो म्युजिक भिडियोमा लोकप्रिय अभिनेता प्रेम सुब्बालाई मुख्यरुपमा प्रस्तुत गरिएको छ ।
भिडियोमा बादल श्रेष्ठ, र नव कलाकारहरु रविना केसी र इसिता राईको पनि अभिनय रहेको छ । सो गीतमा शब्द रबिन खावाहाङ राईको रहेको छ भने सङ्गीत डा. शरद सिन्हाको रहेको छ । सिल्भर इन्टरटेनमेन्टको प्रस्तुति रहेको भिडियोमा क्यामेराम्यान भुपेन्द्र तुम्वाहाम्फे, ड्रोन अप्रेटरमा सुमन तामाङ र मेकअप आर्टिस्ट लोकेस थापा रहेका छन् । भिडियो बुबाको मुख हेर्ने दिन रिलिज गरिने निर्देशक राईले जानकारी दिए ।


