धरानः पाथिभरा जब लिङ्क इटहरी र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौंबीच दुर्घटना बीमाको सम्झौता भएको छ ।
शुक्रबार जब लिङ्कको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका प्रबन्ध निर्देशक पवन अधिकारीबीच दुर्घटना बीमाको सम्झौता भएको हो । सम्झौतापत्रमा पाथीभरा जब लिङ्कमार्फत जागिर खाने मानिसको सात लाखको निःशुल्क बीमा गरिनेछ ।
बीमित मानिसको मृत्यु भएमा सात लाख, घाइते भएमा सत्तरी हजार रुपैयाँ र अङ्गभङ्ग भएमा बीमाङ्कबापतको ४० प्रतिशत रकम हस्तान्तरण गर्नेगरी सम्झौता भएको अधिकारीले बताए । उनका अनुसार जागिर खान आउने जो कोहीको पनि एक वर्षको बीमा गरिनेछ । पछिल्लो समय बीमाप्रति मानिसको रुचि बढ्दै गएका कारण पनि दुर्घटना बीमा गरिएको उनले बताए ।
इन्स्योरेन्सका सिईओ खत्रीले जब लिङ्कमार्फत दुर्घटना बीमाको काम गर्न पाउनु आफूहरूका लागि सकारात्मक रहेको बताए । सम्झौता हस्तान्तरण कार्यक्रममा इन्स्योरेन्सका क्षेत्रीय प्रमुख, इटहरी शाखा प्रमुखलगायतको उपस्थिति थियो ।