धरानः १०८ औं वीपी जन्मजयन्ती धरानमा पनि मनाएको छ ।
धरान–१३ स्थित बीपी पार्कमा बिहीबार नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुरयाएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तिको अवसरमा उनको पूर्णकदमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
धरान उपमहानगरपालिका मेयर तिलक राई, प्रदेश १ का प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, कोग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङलगायत नेताहरुले बीपीको पूर्णकदमा माल्यार्पण गरेका थिए ।
१९७१ साल भदौ २४ गते जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्य र राजनीतिमा व्यवहारवादी रहेको मेयर राईले बताए ।
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुका साथै राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेको नेताहरुले बताए ।
कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष बीपीले जेल जीवन बिताएको बारेमा नेताहरुले चर्चा गरेका थिए । नेताहरुले स्व. कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित रहेको बताएका थिए ।