Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेस महाधिवेशनः को बलियो ?

हाम्रो कोशी आवाज
असोज १ २०७८, शुक्रबार
धरानमा कांग्रेस महाधिवेशनः को बलियो ?

धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रौनक धरानमा शुरु भइसकेको छ । प्रधानमन्त्री तथा कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवानिकट किशोर राईको प्यानलले पनि शुक्रबार उम्मेदवारी घोषणा गरेसँगै यसको रौनक थपिएको हो ।
केही समयअघि संस्थापनइतरका श्याम पोख्रेलले माहौल आफूहरुको पक्षमा रहेको भन्दै उम्मेद्वारी घोषणा गरेका थिए । पोख्रेलको प्यानलले पार्टीको संगठनलाई मजबुत बनाउन निःस्वार्थ लागिपर्ने नेताहरुले बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस वडा समिति वडा नं. १८ ले आयोजना गरेको भेटघाट कार्यक्रममा संस्थापन पक्षका नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश नं. १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ (डिआइजी) ले पोख्रेल नेतृत्वको प्यानल सक्षम र सबल रहेको बताए । ‘यही नेतृत्वले मात्र धरानमा कांग्रेसलाई सक्रियरुपमा अघि बढाउन सक्छ’, उनले भने ।
नेपाली कांग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले यो समूहले २० वटै वडाका बुथ सभापतिहरुको आग्रहलाई बुझ्न सक्ने बताए ।
सुनसरी क्षेत्र नं. १ (ख) का सचिव मुरारी भट्टराईले पनि पोख्रेलको समूह नै सक्रिय रहेको बताए । उनले कसैले फकाइफुल्याइ गरेको भरमा मतदान गर्न नहुने बताउँदै गौरवका साथ यो समूहलाई विजय गराउन पनि आग्रह गरे ।
सभापतिका प्रत्यासी उम्मेदवार पोखरेलले आफ्नो समूहले धरानमा कांग्रेसको शिर उच्च बनाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । १३ औं महाधिवेशनपछि धरानमा कांग्रेसप्रति आकर्षण बढेको पोख्रेलले बताए । सभापतिका प्रत्यासी उम्मेदवार पोख्रेलले सही नेतृत्व आएन भने पार्टी धरासायी हुनसक्ने समेत बताए ।
सभापतिका प्रत्यासी उम्मेद्वार पोख्रेलले नेवि संघबाट राजनीतिक शुरु गरी गएको १३ औं अधिवेशनबाट कांग्रेस धरानको सचिवमा निवार्चित भएका थिए ।
पोख्रेल समूहबाट नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बुले दुईजना उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । नरेन्द्रकुमार राई (प्रविण) २०७४ सालको स्थानीय चुनावमा धरानको वडा नं १८ का निवार्चित वडाअध्यक्ष हुन् भने सन्तोष लिम्बू वडा नं ५ का निवार्चित वडाअध्यक्ष हुन् । दुवैजना तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा आएका हुन् ।
यस्तै, दुई सचिव पदमा हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार रहेका छन् । श्रेष्ठ तरुण दल धरानको सभापति पनि हुन् भने यातायात व्यवसायी समेत हुन् । राई नेवि संघबाट विद्यार्थी राजनीति गर्दै अहिले पार्टीको भूगोलको राजनीतिमा छन् । उनी धरानको वडा नं १९ मा कांग्रेसका महत्वपुर्ण खम्बा हुन् भने धरान गल्फ क्लबको सचिवसमेत हुन् ।
यसैगरी, दुई सहसचिव पदमा शिला बज्रचार्य र युनेस राना मगर उम्मेदवार रहेका छन् । बज्राचार्य महिला अधिकारकर्मी तथा समाजसेवी हुन् । उनी महिला सञ्जाल धरानकी पूर्व अध्यक्षसमेत हुन् । सहसचिवका अर्का उम्मेदवार मगर पनि नेविसंघमा रहेर लामो समय विद्यार्थी राजनीति गरेका युवा हुन् । यस्तै, कोषाध्यक्ष पदमा समाजसेवी एवं कांग्रेस धरानका महिला विभाग प्रमुख पञ्चकला राई रहेकी छन् । उनी १३ औं अधिवेशनका नेपाली कांग्रेस धरान उपमहानगर समितिमा सहसचिव पनि भएकी थिइन् ।

प्रकाशित मिति: असोज १ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend