धरानः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) लाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागि आवश्यक रहेको बताएका हुन् । उनले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्नु नहुने उल्लेख गरे । एमसीसी संसदबाट पास गराउनको लागि सबैबीच सहमतिको खाँचो रहेको मन्त्री कार्कीको भनाई छ ।
उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसद्बाट पास गराउनुपर्ने बताए । एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उनको भनाइ छ ।
मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने पनि बताए ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थापना भएको कार्यालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।