धरानः धरानमा कांग्रेसको महाधिवेशनको रौनक छाइसकेको छ । शनिबार हुने महाधिवेशनले धरान कांग्रेसमा नयाँ नेतृत्व चयन गर्नेछ । किशोर राई प्यानल र श्याम पोख्रेल प्यानलको अहिले वडागत भेला, छलफललगायतको कार्यक्रम सकिइसकेको छ । शनिबार हुने महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि वडागत भेला, छलफल सकिइसकेपनि अहिले पनि मतदाता आफ्नो पक्षमा ल्याउन ‘लबिङ’ भने जारी छ ।
शनिबार बिहान ८ बजेदेखि धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको भवनमा मतदान हुने जनाइएको छ । शनिबार मतदान हुने ७ पदाधिकारीमा १ सभापतिका लागि २ जना, २ उपसभापतिका लागि ४ जना, २ सचिवका लागि ४ जना र २ उपसचिवका लागि ४ जनाको उम्मेदवारी परेको शुक्रबार निर्वाचन स्थलमा प्रकाशित सूचनामा जनाइएको छ ।
सबै पदमा २–२ जनाको उम्मेदवारी सभापतिका उम्मेदवार किशोर र श्याम प्यानलबाट परेको छ । किशोरको प्यानलबाट उपसभापतिमा महेन्द्र तामाङ र राजकुमार थोप्रा (लिम्बू) उम्मेदवार छन् । सचिवमा रुकमणि गौतम (कोपिला) र सुमन श्रेष्ठ उम्मेद्वार बनेका छन् । सहसचिवमा कमला रुचाल र गोपाल कार्की उम्मेदवार छन् ।
पोखरेलको प्यानलबाट उपसभापति पदमा नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बू छन् भने सचिवमा हिमाल श्रेष्ठ र जीतेन्द्र राई उम्मेदवार बनेका छन् । सहसचिवमा शिला बज्राचार्य र युनेष राना मगर उम्मेदवार छन् । यी प्यानलमध्ये एकलाई जिताउन ४९६ जनाले मतदान गर्नेछन् ।
कांग्रेसको विधानअनुसार नगर समितिमा प्रत्यक्षतर्फ २० जना महिलासहित ६० जना सदस्य रहने व्यवस्था छ । साथै समानुपातिक सदस्यहरुमा खस आर्यबाट ३ महिला सहित ७ जना, आदिवासी जनजातिबाट १३ महिलासहित २६ जना, मधेशीबाट १ महिला सहित २ जना, दलितबाट २ महिला सहित ४ जना र मुस्लिमबाट १ जना नगर समितिमा सदस्य रहने व्यवस्था छ । प्रत्यक्ष र समानुपातिक सदस्यहरु सबै निर्विरोध निर्वाचित भएको बताइएको छ ।
राई कि पोख्रेल बलियो ?
अहिले नगरमा कसले पद हुत्याउला भन्ने धेरैमा चासो छ । ‘मार्केट’ मा धेरैले किशोरले सहजै चुनाव जित्छन् भनिरहेका छन् भने श्यामले पनि सहजै जित्छन् नै भनिरहेका छन् । चिया गफ मात्रै होइन कांग्रेसजनमा यी दुईबीचमा एउटा समूह किशोर नै बलियो हो भन्छन् भने अर्को समूह श्याम बलियो भनिरहेका छन् । कांग्रेसका यी दुवैजना जुझारु हुन् ।
किशोर प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् भने श्याम पार्टीको संस्थापन पक्षका मानिन्छन् । किशोर राई अघिल्लो कार्यसमितिका भूतपूर्व सभापति हुन् । जब तिलक राईसहितको युवा, जोश, जाँगर भएको भन्दै टिम आयो, त्यसपछि १३ औं महाधिवेशनमा उनले चुनाव हारेका थिए ।
अहिले किशोर एकपल्टलाई मौका दिनुहोस् भन्दै फेरि नगर सभापतिमा लड्न आइपुगेका हुन् । उनले उम्मेद्वारी घोषणामै भनेका छन्–आफूलाई एकपल्ट मौका दिनुहोस्, आगामी दिनमा सभापति र स्थानीय तहको निर्वाचनमा किशोरले झोला बोकेर योग्य, सबल, सक्षम नेतृत्वलाई सहयोग गरेर शत प्रतिशत जिताउन लाग्छ, जिताउन सकेन भने त्यहीदिन आफ्नो पदबाट राजनीमा दिन्छ ।
१४ औं महाधिवेशनका लागि ‘सामूहिक नेतृत्व, मजबुत संगठन, पारदर्शिता, अनुशासन, सुशासन र विकास हाम्रो प्रतिबद्धता’ नारासहित उनको प्यानल चुनावी मैदानमा होमिएको हो । उनले फुटबललाई अन्तर्राष्ट्रियस्तरमा चिनाइसकेको जनाउँदै धरानलाई मिनी हङकङ बनाउने समेत घोषणा गरेका छन् । प्यानलले पार्टीभित्र अनुशासन कायम गर्नेदेखि भ्रष्टाचार, अनियमितालाई चिर्दै अघि बढ्ने भन्दै १६ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ । उनी यसअघि पटक–पटक सभापति भइसकेका व्यक्ति पनि हुन् । उनले लगभग १३ वर्ष सभापतिमै बिताएको कांग्रेसले जनाएको छ । उनी यसअघि क्षेत्र नं. १ बाट सांसदमा लडिसकेका व्यक्तिसमेत हुन् । ‘मैले गरेका प्रतिबद्धतालाई अक्षरस पालना गर्छु भनेर मैदानमा होमिएको छु’, किशोरले भने, ‘त्यही भएर यसपटक मैले धेरै आशा, भरोसा राख्दै एकपटकलाई जसरी पनि जिताउन आग्रह गरेको हुँ, अवश्य जीत सुनिश्चत छ ।’
उनको प्यानलबाट उपसभापतिका लागि लडेकामध्ये महेन्द्र र राजकुमार व्यवसायी हुन् । सचिवमा उठेकी रुकमणि महिला अधिकारकर्मी हुन् । उनी बोल्न र भाषण गर्न खप्पिस छिन् । उनी कांग्रेसजनमै पनि रुचाइएकी उम्मेद्वार हुन् । सुमन यातायात व्यवसायी हुन् । सहसचिवमा उठेकी कमला दलित अधिकारकर्मी हुन् भने गोपाल कांग्रेसकै नेता हुन् ।

को हुन् किशोर
किशोर राजनीतिमा निकै पोख्त र अग्रज मानिन्छन् । किशोर २०४७ साल पछि कांग्रेस पार्टीमा प्रवेश गरी पार्टीको वडा सदस्य हुँदै वि.सं २०५१मा धरान वडा नं १२ नेपाली कांग्रेस बुथ सभापति रहेका थिए । वि.सं.२०५४ मा धरान नगर वडा नं १२ को वडाध्यक्ष भएका राई वि.सं.२०५५ मा नेपाली कांग्रेस धरान नगर समिति सचिव रही काम गरेका थिए भने वि.सं.२०६० सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक धरान नगर सभापति भएका थिए । वि.सं.२०६४ नेपाली कांग्रेस एकीकृत पार्टी धरान नगर सभापति भएका थिए । उनी वि.सं.२०६६ सालमा पोहिलोपटक नेपाली कांग्रेस निर्वाचित धरान नगर कमिटी सभापति भएका किशोर राई ।
वि.सं.२०७४ प्रदेश १ सभा निर्वाचनको सुनसरी क्षेत्र नं १ क को प्रत्यक्ष प्रदेश सदस्यको उमेदवार रहेका थिए । उनले फुटबलमा पनि निकै योगदान दिएका छन् । उनी एन्फाका केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए । उनले २२ औं बुढासुब्बा गोल कपसम्म नेतृत्व गर्दै आएका छन् भने राष्ट्रिय खेलकुद परिषद्को पूर्व सदस्य पनि रहेका छन् । उनले धरान नगरपालिकामा खानेपानी ल्याउन सर्वदलीय, सर्वपक्षीयको तर्फबाट संयोजक रहेर उनले भूमिका निभाएका थिए ।
उता श्याम पनि के कम । उनले आफू सभापति बने जनप्रतिनिधि (मेयर, उपमेयर, वडाध्यक्ष आदि) छोडिदिने भनेर लागिपरेको बताउँछन् । ‘मलाई सभापतिबाहेक कुनै पद चाहिएन, म पार्टी सभापति भएरै पनि मेयर पनि चाहिन्छ भन्दिनँ’, उनले भने, ‘त्यही भएर यसपटक मेरो पक्षमा कांग्रेसजनले बुझिदिनुहुन्छ होला भन्ने आशा गरेको छु ।’
उनले उम्मेदवारी घोषणा कार्यक्रमै भाषण छाँटे–हामी फ्रेस र ताजा उम्मेदवारहरु हौं, कि हामी हिजो बासी भएर फ्रिजमा राखेको सामान तावामा तताएर ताजा बनाएर ल्याएका होइनौं हामी छप्प काटेको, तात्तातो र फ्रेस तत्कालै टिपेको, सागको र फर्सीको मुन्टा र काँक्राजस्ता उम्मेद्वार हौं । कि ओइलाइसकेको र फेरिचाहिँ फ्रिजबाट निकालेको फेरि सुकाएर र तताएर आलोजस्तो देखिने खाँदाखेरी गन्हाउने उम्मेदवार होइनौं हामी । त्यसैले धरानमा उठेका ८ जना उम्मेद्वार ताजा र फ्रेस छौं, हामीलाई बफ्याइरहनुपर्दैन, फ्रिजमा हालिराख्नुपर्दैन, सुकाउनु र तताएर झुक्याइरहनुपर्दैन ।’ उनले त्यतिबेला पनि भनेका थिए–अहिले कांग्रेसको माहौल नै हामीतिर छ, वडादेखि जिल्ला तहका नेतृत्वले हामीलाई नै रुचाएको छ, त्यसैले भोट हामीलाई नै आउँछ र हामीले जित्छौं ।
उनको समूहमा चुनावी मैदानमा होमिएका उपसभापति नरेन्द्रकुमार वडाध्यक्ष हुन् भने सन्तोष पनि वडाध्यक्ष नै हुन् । नरेन्द्रकुमार २०७४ सालको स्थानीय चुनावमा धरानको वडा नं १८ का निवार्चित वडाअध्यक्ष हुन् भने सन्तोष वडा नं ५ का निवार्चित वडाअध्यक्ष हुन् । दुवैजना तरुण दल हुँदै नेपाली कांग्रेसको राजनीतिमा आएका हुन् ।
यस्तै, दुई सचिव पदमा हिमाल र जितेन्द्रमध्ये श्रेष्ठ तरुण दल धरानको सभापति पनि हुन् भने यातायात व्यवसायी समेत हुन् । राई नेवि संघबाट विद्यार्थी राजनीति गर्दै अहिले पार्टीको भूगोलको राजनीतिमा छन् । यसैगरी, दुई सहसचिव पदमा शिला बज्राचार्य र युनेस राना मगर उम्मेदवार रहेका छन् । बज्राचार्य महिला अधिकारकर्मी हुन् । सहसचिवका अर्का उम्मेदवार मगर पनि नेविसंघमा रहेर लामो समय विद्यार्थी राजनीति गरेका युवा हुन् ।
उनले पाँच वर्षे कार्यकालमा धरानमा आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्न सकेको, धरान–१३ स्थित बीपी पार्कमा बीपीको पूर्णकदको शालिक निर्माण गरेको, उपनिर्वाचनमा मेयर पदमा ऐतिहासिक जित हासिल गरेकोलगायतका दावी पेश गर्दै अघि बढेका छन् ।
को हुन् श्याम ?
श्याम २०६० सालमा महेन्द्र क्याम्पसमा सभापतिको उम्मेद्वार बनेका थिए । उनी यसअघि नेविसंघको जिल्लाको उपसभापति पनि बनेका थिए । जनआन्दोलनअगाडि ७२ दिन इनरुवा र ८ दिन धरानमा जेल पनि परेका थिए । यस्तै, २०६२ सालमा ७२ घण्टा आमरण अनसनमा पनि बसेको उनले जानकारी दिए । उनी नगर सदस्य हुँदै १३ औं महाधिवेशनमा नगर सचिव बनेका थिए ।
विवादित छविका व्यक्ति आएको चर्चा
अहिले दुवै प्यानलबीच अन्य उम्मेदवार गतिला छैनन् भन्ने समेत चर्चा चल्न थालेको छ । दुवै समूहबाट विवादित छविका केही व्यक्तिहरु पदका लागि आएको कांग्रेसजनमै पनि चर्चा छ । ‘दुवै समूहबाट अन्य पदका लागि आएका केही व्यक्तिहरु विवादित छविका देखिएका छन्’, एक कांग्रेस कार्यकर्ता भन्छन्, ‘त्यसैले पनि कांग्रेसजनमा केही निराशा छाएकै छ ।’
श्यामको आरोप
दुवै समूहमध्ये श्यामको प्यानलले धेरै आरोप लगाउँदै आएको छ भने किशोर प्यानलले आरोपलाई चिर्दै अघि बढेको छ । श्यामले आफूलाई क्षेत्रीय प्रतिनिधि हुनबाट रोकेपछि कांग्रेसजनले हैसियत थाहा पाएको र कांग्रेसजनमा हेक्का समेत भएको बताएका छन् । उनले मदिरा र मासुभात खुवाएर कार्यकर्ता नढल्किने समेत बताउँदै आएका छन् । ‘ती मतदाताको मनमा कसलाई मतदान गर्ने भन्ने प्रष्ट छ’, उनले यसअघि उम्मेद्वारी घोषणा कार्यक्रम भनेका छन्, ‘कांग्रेसका इमान्दार कार्यकर्ता झुक्किन्छन् भने चेष्टा नगरियोस् ।’
चुनावी आंकलन
चुनावी आँकलन गर्दा र यसअघि पनि संस्थापन पक्षले नै जितेको हुनाले यसपटक पनि उसैले नगर सभापतिको पद हुत्याउने कतिले दावी गरेका छन् । ‘यसअघि पनि चुनावमा संस्थापन पक्ष नै हावी देखियो’, एक कांग्रेस कार्यकर्ता भन्छन्, ‘तर संस्थापन पक्षको मेयर भइसकेपछि पनि खासै राम्रो काम गरेको भने नदेखिएको हुनाले पनि यसपटक कांग्रेसीको मानसपटल जे गर्छ अर्को पक्षले नै गर्छ भन्दै लागेको देखिन्छ ।’
जानकारका अनुसार किशोर अलि लचिलो स्वभाव देखाउने, केही गरिपो हाल्छ कि जस्तो जस्तो स्वभाव देखाउने हुनाले पनि उनले नै सभापतिमा जित्ने सम्भावना छ । एक कार्यकर्ता जातिगत भोट पनि उनैको पक्षमा जाने र बाँकी अरु केहीले उनैलाई भोट हाल्ने दावी गर्छन् ।
यता पोख्रेल समूहको पनि आफ्नै दावी छ । खस आर्यजतिको भोट सबै आउने र जातिगत भोट पनि आफ्नै पोल्टामा आउने दावी गर्छ । वडागत रूपमा सबैभन्दा बढी भोट १ नम्बर वडामा छ । जहाँ ५१ भोट छ । त्यही वडा नै निर्णायक हुने, त्यहाँ धेरैजसो खस आर्य रहेको र त्यहाँको भोट पोख्रेललाई नै आउने दावी धेरैको छ । धरानमा २० वटै वडामध्ये खसआर्य जातिको १४८ भोट छ भने राई जातिको मात्रै ११३ छ ।