धरानः च्यारिटेबल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको दोस्रो चरणको खेल सम्पन्न भएको छ ।
दोस्रो चरणको सोमबार भएको प्रि–क्वाटर र क्वाटर फाइनलमा विजयी हुँदै च्याम्स, एफविसी, आयोजक मितेरी र ग्याटिस टिमले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका छन् ।
क्वाटर फाइनल खेलमा च्याम्सले कम्व्याट टिमलाई ४–१, मितेरीले एफएफसीलाई ४–१ र ग्याटिसले जिजिएफसिलाई ३–२ गोल अन्तरले पराजित गरेका थिए । त्यस्तै, एफविसी र चेल्सी वी टिम निर्धारित समयसम्म बराबर दुई दुई गोल भएपछि टाइब्रेकरमा २–१ गोल अन्तरले पराजित गर्दै एफविसी टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।
मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आयोजित प्रतियोगितामा प्रिक्वाटर र क्वाटर फाइनल गरी १३ खेल सम्पन्न भएको थियो । भोलि मंगलबार बिहान ११ बजेदेखि सेमिफाइनल र फाइनल खेल दुवै एकैदिन हुने मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी गराए ।
धरान–११ नवकला चोकमा रहेको मितेरी फुटसलमा सम्पन्न प्रतियोगिताका बिजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएका थिए । भोलि मंगलबार हुने फाइनल खेल एन्फा पूर्व प्रवक्ता एवं सदस्य किरण राईको प्रमुख अतिथिमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
तस्वीरः विकास चाम्लिङ राई