Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माओवादी केन्द्र धरानमा विवाद, मिङमा भोटेले दिए राजीनामा

हाम्रो कोशी आवाज
असोज १७ २०७८, आइतबार
माओवादी केन्द्र धरानमा विवाद, मिङमा भोटेले दिए राजीनामा

धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानमा पनि तीब्र विवाद शुरु भएको छ ।
यसैबीच धरान नगर सदस्य तथा वडा नं. ३ सचिव मिङ्मा भोटेले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीभित्र गुटउपगुट हावी भएको भन्दै उनले राजीनामा दिएको जानकारी दिए । ‘खासमा पार्टीभित्र अहिले जिल्ला तह हुँदै धरानसम्म पनि तीब्र विवाद छ, पार्टीको विवाद नमिलेसम्म म माओवादी केन्द्रको कुनै पनि गतिविधिमा सामेल हुने छैन ।’ उनले भने ।
उनका अनुसार जिल्लामा यसअघि जिल्लाले निर्णय गर्दै धरान उपमहानगरपालिकामा चोत्लुङलाई अध्यक्ष बनाएको थियो । तर जिल्लाको निर्णय खारेज गर्दै प्रदेश कमिटीले अइन्द्रविक्रम बेघालाई अध्यक्ष तथा इन्चार्ज तोक्दै चोत्लुङलाई सह-इन्चार्ज बनाएको जनाइएको छ ।
उनले गुट बनाई एक अर्कालाई कारवाही गर्नेदेखि कार्यकर्तालाई गुटमा हाल्न, खुल्न बाध्य बनाइने गरेको बताए । ‘अहिले पनि गुटउपगुटमा खुल्नुपर्छ भन्ने दबाव आइरहेको नै छ, केन्द्रमा विवाद नै छैन, यहाँ किन विवाद यसमा चित्त बुझेको छैन’, उनले थपे, ‘म त कुनै पनि गुटउपगुटमा खुल्दिनँ, पार्टीलाई राम्रो बनाऔं भन्ने हो । तर त्यो पनि पार नलागेपछि राजीनामा दिएँ ।’
यसअघि पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत भइसकेका हरि लिम्बू, युवा नेता मिलन चाम्लिङलगायतले पार्टी छोडेर एमालेमा पूर्णरुपमा खुलेर लागिसकेका छन् । हरि अहिले नेकपा एमालेको प्रदेश कमिटी सदस्य बनेका छन् ।
‘माओवादी केन्द्रमा जसरी गुट–उपगुट हावी हुँदै व्यक्तिको सीमित स्वार्थको लागि पार्टी र आन्दोलनलाई नै खतरा हुनेगरी काम गर्नुभएन’, उनले भने, ‘मेरो राजीनामा यस्तै प्रवृत्तिविरुद्धको हो, पार्टीलाई सुदृढ गर्दै आन्दोलनको रक्षा गर्दै एकजुट भएर संगठन विस्तार गर्दै अझै बलियो र ठूलो पार्टी बनाउने समयमा नेतृत्व आफ्नो स्वार्थपूर्तितिर हिँडिरहेको मैले देखेको छु, जबसम्म गुटको अन्त्य भई स्वतस्फुर्त पार्टी बन्दैन तबसम्म जिम्मेवारीमा नफर्किने घोषणा गर्दछु ।’

प्रकाशित मिति: असोज १७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend