धरानः तेस्रो गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको छ ।
सिरहाको गोलबजार नगरपालिकाले असोज १५ र १६ गते आयोजना गरेको उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको हो । धरानले तेस्रो स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र हात पारे । सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई तेस्रो भएको जनाउँदै शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
सुनसरी जिल्ला कराते संघका अध्यक्ष कुवेर राईका अनुसार प्रतियोगितामा पुरुषतर्फ विवेक राई कातामा प्रथम भए भने महिलातर्फ कातामा रेणु राई तेस्रो भइन् । पुरुषतर्फ ६० केजी तौल समूहमा सन्तोष शर्मा प्रथम हुँदै उत्कृष्ट खेलाडीसमेत घोषित भए ।
यस्तै, पुरुषतर्फ ६७ केजी तौल समूहमा रोहित बाँस्कोटा प्रथम भए भने महिलातर्फ ५५ केजी तौल समूहमा रेणु राई दोस्रो भइन् । ६० केजी तौल समूहमा रिया राई दोस्रो भइन् भने ६८ केजी तौल समूहमा जेनिशा राई पनि दोस्रो भइन् ।
यस्तैगरी, ५० केजी तौल समूहमा रविन मगर तेस्रो भए ३० केजी तौल समूहमा पिसिएस विक तेस्रो भए । ३५ केजी तौल समूहमा अनिशा तामाङ तेस्रो भइन् । टिमका प्रशिक्षक उमेश तामाङले धरान गएको समूहले तेस्रो हुन सफल भएको जानकारी दिए ।