धरानः धरान वडा नं. १४ का फुटबल खेलाडीहरुलाई टिसर्ट वितरण गरिएको छ ।
मङ्गलबार आइडियल बोर्डिङ स्कुल धरान–१४ ले एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै टिसर्ट वितरण गरिएको हो । कार्यक्रममा मेयर तिलक राईले खेलाडीहरुलाई टिसर्ट वितरण गरेका थिए ।
स्कुलका निर्देशक सागर खड्काले इतिहासमै पहिलोपटक वडा नं. १४ ले २१ औं गोधुली रनिङकपमा विजेता भएको भन्दै खेलाडीहरुको सम्मानस्वरुप टिसर्ट वितरण गरिएको जानकारी दिए । मेयर राईले गोधुली कपमा धरान–१४ को ऐतिहासिक जित हासिल गर्न सकेको बताए । आइडियल स्कुलले खेलाडीहरुको सम्मान स्वरुप टिसर्ट वितरण गरेको भन्दै मेयर राईले प्रशंसा गरे । टिसर्ट वितरण कार्यक्रममा सोही वडा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।