Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कानुनी सचेतना

हाम्रो कोशी आवाज
असोज १९ २०७८, मंगलबार
धरानमा कानुनी सचेतना

धरानः धरान उपमहानगरपालिकाले (टीएलओ) टोल विकास संस्थाहरुलाई कानुनसम्बन्धी दुईदिने सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा धरान १ स्थित उद्योग वाणिज्य संघको हलमा मङ्गलबारदेखि टीएलओ सचेतना कार्यक्रम सुरु गरेको हो । पहिलोदिन धरानका वडा नं. १ देखि वडा नं. १३ सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरु कार्यक्रममा सहभागि भएका थिए ।
बुधबार वडा नं. १४ देखि वडा नं. २० सम्मका टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई सचेतना कार्यक्रम दिईनेछ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले धरानका वडा नं. १ देखि २० सम्मका टीएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुन सम्बन्धि सचेतना कार्यक्रम गरिएको बताए । ‘जबसम्म नागरिकहरुले कुनै पनि कुराहरु बुझेका हुँदैनन्, तबसम्म कानुनको कार्यान्वयन हुन सक्दैन,’ मेयर राईले भने । नागरिकहरुलाई कानुन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गरेर बुझाउनु स्थानीय सरकारको दायित्व रहेको मेयर राईको भनाइ थियो ।
मेयर राईले कार्यक्रममा सहभागी भएका प्रतिनिधिहरुलाई बुझेको कुरा शेयर गर्न, नबुझेको कुरा बुझाउन आग्रह गर्दै अभ्यासले मानिसलाई परिपक्क बनाउने कुरामा जोड दिए । टिएलओमा आएका केशहरुलाई सही ढंगबाट मिलाउन सक्नुपर्ने बताउँदै मेयर राईले क्षमता अभिवृद्धि गर्नका लागि यस्तो तालिमको आयोजना गरिएको बताए ।
उपमहानगरपालिकाका कानुनी सल्लाहकार अवइन्द्र निरौलाले वडाको नगरपालिकाको, न्यायिक समितिको काम कर्तव्य के हो ? यि सबै कुरामा जानकारी हुन आवश्यक रहेको बताए । कानुनी सल्लाहकार जनार्दन कोइरालाले दुईदिनको अवधिमा टिएलओका संयोजक तथा प्रतिनिधिहरुलाई कानुनको परिचय, कानुन निर्माणको प्रक्रियामा सहजीकरण गरिने जानकारी दिए । यस्तै, कार्यपालिकाकी सदस्य एवं न्यायिक समिति सदस्य विनिता बज्राचार्यले टिएलओले ल्याएको सल्लाह, सुझावहरुलाई लिएर न्यायिक समितिले काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति: असोज १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend