धरानः प्रदेश नं. १ र बागमती प्रदेशको नेतृत्व माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पाउने भएको छ ।
सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको भागबन्डा पेचिलो बनिरहेको बेला यस्तो सहमति भएको हो । केन्द्रमा ४ मन्त्रालयसहित १ राज्यमन्त्री एकीकृत समाजवादीले लिनेछ भने प्रदेश नं. १ र बागमती प्रदेशमा मुख्यमन्त्री लिने भएको छ ।
एकीकृत समाजवादीबाट प्रदेश नं. १ मा राजेन्द्र राई र बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार छन् । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको स्थायी कमिटी बैठकको बीचमै बालुवाटार पुगेर असन्तुष्टि राखेका थिए ।उनले संघीय सरकारमा मन्त्रालय बाँडफाँटमा आफूलाई अन्यायमा पारिएको गुनासो बैठकमा राखेको स्रोतले जनाएको छ ।
समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संघदेखि प्रदेशसम्म एकै पटक सहमति भएको बताएका छन् । उता प्रदेश १ मा एमालेका भीम आचार्यपछि समाजवादीकै राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन् ।