धरानः प्रधानमन्त्री शेरबहादुर देउवा आज अर्थात् आइतबार प्रदेश नम्बर १ का विभिन्न जिल्ला पुग्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा बाढी र पहिरोले पुरयाएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम छ । त्यसपछि इलाम र पाँचथरको सीमानामा पर्ने राँके बजारमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम पनि तय भएको जनाइएको छ ।
प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ लगायत रहनेछन् । प्रधानमन्त्रीसहितको टोली आइतबार साँझ नै काठमाडौँ फर्किने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री देउवा बिहीबार र शुक्रबार सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षण गरेर फर्किएका थिए । सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार दिने बताएको छ ।
गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र भौतिक संरचनामा क्षति भएको छ ।