धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी तिहारअघि नै कालोपत्रे गरिने भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको उपस्थितिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडमा भएका खाल्डोहरुलाई पुर्न तथा कालोपत्रे गर्नका लागि एक उपभोक्ता समिति र अुनगमन समिति गठन गरिएको छ ।
प्रतिष्ठान जाने धरान धनकुटे सडक कालोपत्रे तथा सडक मर्मत गर्नका लागि उपभोक्ता समितिको अध्यक्षमा सूर्यकुमार लिम्बू, सचिवमा कुन्दन तामाङ र कोषाध्यक्षमा उमा राजभण्डारी चयन भएका छन् । सदस्यहरुमा सुनिल खड्का, नवराज श्रेष्ठ, रवि लिम्बू, भावना सुब्बा, नमिता राई र टिका लिम्बू छन् । यस्तै, अनुगमन समितिको संयोजकमा धरान वडा नं. १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) लाई चयन गरिएको छ । सदस्यहरुमा निर्मल राई, पूर्णबहादुर गुरुङ, हर्क साम्पाङ र रेणुका राई रहेका छन् ।

मेयर राईले यो सडक धेरै पुरानो सडक भएको हुनाले समय समयमा बिग्रिरहने अवस्था रहेको बताए । ‘प्रतिष्ठान आउने धनकुटे रोडमा गत वर्षपनि केही बजेट छुट्याएर खाल्डाखुल्डी पुरेका थियौं । पिच गर्ने योजना बनाउँदै गर्दा केहीदिन अघि मात्र आएको अविरल वर्षाले फेरि जस्ताको त्यस्तै बनायो ।’ उनले भने । धनकुटे रोडको बाटो भएर एम्बुलेन्ससहित दैनिक सयौं सवारीसाधनहरु प्रतिष्ठानमा उपचारको लागि आउने भएको हुनाले समस्या नहोस् भनेर तिहारअघि नै काम सम्पन्न गर्न मेयर राईले निर्देशन समेत दिएका छन् । उपमहानगरपालिकाका योजना अधिकृत किरण भुजेलले नगरपालिकाको सडक मर्मत कोषबाट धनकुटे रोडको खाल्डाखुल्डी कालोपत्रे गरिने जानकारी दिए ।