धरानः नेपाल सरकारले दिएको पदक ग्रहण गर्न हङकङबाट नेपाल आएका पत्रकार किशन राईको भीरबाट लडेर निधन भएको छ ।
दुई दशकदेखि हङकङमै पत्रकारिता गर्दै आएका राई आफ्नो पुख्यौली जिल्ला ओखलढुंगाबाट भोजपुर जाँदै गर्दा भीरबाट लडेर निधन भएको हो ।
पछिल्लो समय सुनसरीको धरान घर भई लामो समयदेखि हङकङमा पत्रकारिता गर्दै आएका राईले हङकङबाटै नेपाली भाषाको ‘एभरेष्ट दैनिक’ छापा पत्रिका र अनलाइन संस्करणसमेत सञ्चालन गर्दै आएका थिए ।
पत्रकार राई राति बाटोमा पिसाब गर्न जाँदा भीरबाट चिप्लिएर लडेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता इन्स्पेक्टर सागर साहले जानकारी दिए । इन्स्पेक्टर साहका अनुसार ५४ वर्षीय राईको दिक्तेल, रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ को बुवालुङस्थित पङखुखोलामा शव फेला परेको थियो ।
नेपाल पत्रकार महासंघ हङकङ शाखाका अध्यक्षसमेत रहेका राईको शवलाई जिल्ला अस्पताल दिक्तेलमा लगेर राखिएको छ । उनको परिवार आएपछि मात्र पोष्टमार्टम गरिने अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनी गैरआवासीय नेपाली संघ हङकङको उपाध्यक्ष, आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष तथा विभिन्न नेपाली संघसंस्थामा समेत आवद्ध रहदै आएका थिए । बिदेसी भूमिमा सञ्चारमाध्यममार्फत् नेपाली भाषा, सस्कृति, समाजको पहिचानका लागी उल्लेख्य योगदान पुरयाएको भन्दै राईलाई नेपाल सरकारबाट ‘जनसेवाश्री पदक’ दिने घोषणा भएको थियो । सोही पदक लिन नेपाल आएका राई अब रहेनन् ।