Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एमालेः अन्ततः मिलेनन् नेता

हाम्रो कोशी आवाज
कार्तिक १० २०७८, बुधबार
धरानमा एमालेः अन्ततः मिलेनन् नेता

धरानः धरानमा नेकपा एमाले धरान नगर कमिटीको विवाद साम्य भएन । एमालेमा विवाद बढ्दै जाँदा अहिले फुटेकैजस्तो नै देखिएको छ ।
छिन्नभिन्न भएर दुई समूहले भिन्दाभिन्दै स्थानमा कार्यक्रममात्रै गरेनन्, छुट्टाछुट्टै कमिटी पनि निर्माण गरेका छन् । आफू आफू नै आधिकारिक हो भनेर दाबी गर्दै उनीहरुले कमिटी निर्माण गरेका हुन् । मङ्गलबार मात्रै उनीहरुमध्ये संस्थापन पक्ष भनिएकाले धरान–१० स्थित सैनिक भवनमा कार्यक्रम आयोजना गरेको थियो भने संस्थापनइतर अर्थात् जेठ २ अघिको कमिटी (नारायण सुवेदी समूह) भनिएकाले धरान–१५ स्थित होटल इजी राइडरमा कार्यक्रम आयोजना गरेको थियो ।
धरानमा १० बुँदे सहमतिबमोजिम पार्टी संरचनालाई २०७५ जेठ २ मा फर्काउने वा नफर्काउने भन्नेबारेमा विवाद देखिएपछि अहिले यस्तो रुप बनेको हो ।
मङ्गलबार धरान–१५ स्थित होटल इजी राइडरमा भएको ८ औं नगर अधिवेशनले नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षमा राजमणी निरौला, सचिवमा पारस काङमाङका साथै सहसचिवद्वयमा राजेन्द्र राई र दिवस राई सर्वसम्मत चयन भए । नव निर्वाचित अध्यक्ष सुवेदीले आफूहरुकै कमिटी संस्थापन रहेको दावी गरे ।

यस्तै, संस्थापन पक्ष भनिएको बुधबार भएको बन्द सत्रले अध्यक्षमा हर्कजङ एभेङलाई सर्वसम्मत चयन गरेको छ । यस्तै, उपाध्यक्षमा सविता राई, सचिवमा सुदेश चापागाईलाई सर्वसम्मत चयन गरेको छ भने सहसचिवद्वयमा जोन राई र सुमन लिम्बू चयन भएका छन् । अध्यक्ष एभेङले पनि आफूहरु नै आधिकारिकरुपमा संस्थापन रहेको दावी गरे ।
अध्यक्ष सुवेदीले पदको भागबण्डाका कारण विवाद देखिएको बताए । ‘विशेषतः ६०–४० मा भागबण्डा नमिलेको हो’, उनले भने, ‘उहाँहरुले ६० प्रतिशत माग्नुभयो, हामीले दिएनौं ।’ उता अध्यक्ष हर्कजङले पुरै नेतृत्व आफूहरुकै हुनुपर्ने भन्दै सुवेदी समूह बाङगिएपछि वार्ता भाँडिएको बताए ।
कतिपय एमाले नेताहरुले अहिले सामाजिक सञ्जालमा आक्रोश समेत पोखिरहेका छन् । कसलाई आधिकारिक मान्ने भन्नेबारेमा कार्यकर्तामा अन्योलता सिर्जना भएको पाइएको उनीहरुले बताएका छन् ।
अर्कोतिर यसअघि केपी ओली खेमा र माधव नेपाल खेमाका कार्यकर्ता जस्तो देखिएकोले यस्तो भएको एक नेताले बताउँछन् । यसअघि धरानमा धरानमा केपी समूहभन्दा माधव समूह नै दर्बिलो रहेको र त्यही तागत देखाउन खोज्दा यो परिणाम आएको एकथरीको तर्क छ भने अर्कोथरी यसअघि केपी प्रम हुँदा विरोध गर्दै सडकमा आउने र केपीलाई च्याप्दै हिँड्नेबीचको लडाइँ भएको पनि तर्क राख्दै आएको छ । ‘अहिले पनि केपी र माधव समूहजस्तै छर्लङ्गै छुट्टिएको छ’, उनी थप्छन्, ‘यसअघि केपीले राम्रो काम गरेनन् भनेर सडकमा विरोधका नारा उराल्ने र एमाले बचाउनुपर्छ भन्दै दुःख गर्नेहरुबीच कुरा नमिल्दा यस्तो भएको हो ।’

प्रकाशित मिति: कार्तिक १० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend