धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानमा वाइसीएलले लगाएको ताला खोलिएको छ ।
गत असोज १९ गते केन्द्रको धरान–१४ पेरिस खोल्सीमा रहेको कार्यालयमा वाइसीएलका अध्यक्ष विजय लामाको संयोजकत्वमा पुगेको टोलीले तालाबन्दी गरेको थियो । नेकपा माओवादी केन्द्र धरानका युवा नेता मिङ्मा भोटेले सहमतिमा ताला खोलिएको जानकारी दिए । उनले केन्द्रका संविधानसभा सदस्य तथा केन्द्रीय सदस्य किरण राईले पार्टीको विवाद समाधान गर्ने बचन दिएपछि ताला खोलिएको जानकारी दिए । ‘खासमा हाम्रो पार्टीमा गुटउपगुट मौलाउँदै गएको छ’, उनले भने, ‘यसका लागि युवाहरुले खबरदारी गरेका थिए तर अहिले अधिकांश नेताको उपस्थितिमा ताला खोलिएको छ ।’
विवाद हल नभए फेरि तालाबन्दी गर्ने वाइसीएल अध्यक्ष लामाले जानकारी दिए । ‘खासमा माओवादीको प्रदेश कमिटी हुँदै जिल्ला र नगरमा नेतृत्वहरूले विवाद सिर्जना गरेको र पार्टीमा गुटबन्द सिर्जना गरी विभाजनको सङ्घारमा पुरयाएको हुनाले युवाहरुले पार्टी बचाउने भन्दै तालाबन्दी गरेका थिए तर केन्द्रीय सदस्य राईले केहीदिनमै सो विवाद समाधान गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिएको हो’, अध्यक्ष लामाले भने ।
वाइसील केन्द्रीय अनुशासन विभागका सदस्य सन्दीप लिम्बू, केन्द्रका अग्रज व्यक्तित्व सर्वजीत राई, वाइसील प्रदेश कमिटी सदस्य मोहित पुन मगर, जिल्ला सदस्य विशाल राई, वाइसील नगर संयोजक विजय लामा, ५ नं.वडाका अध्यक्ष विजय राईलगायतको उपस्थितिमा तालाबन्दी खुलेको जनाइएको छ ।

