धरानः धरानमा तीनदिनदेखि हराइरहेका एक व्यक्ति मृत फेला परेका छन् ।
धरान–८ का सुकवीर तामाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसनजिकै घर भएका तामाङ क्याम्पस परिसरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले जानकारी दिए । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
‘विगत तीनदिनदेखि उनी हराइरहेको पाइएको छ’, उनले भने, ‘तर तीनदिनपछि उनी मृत फेला परेको भन्ने जानकारी आएपछि परिवार, स्थानीयलगायतसँग उनको बारेमा बुझ्दैछौं ।’ उनका अनुसार उनी असामान्य व्यवहार देखाउँदै हिँड्ने गर्दथे ।
शवको पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको उनले जानकारी दिए । ‘अहिले आफन्तलाई भेटेरै कुराकानी गरिरहेका छौं’, उनले भने, ‘अनुसन्धान नै भइरहेकोले के कति कारणले मृत्यु भएको हो खुल्न सकेको छैन ।’
