Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पत्रकार राईको आफ्नै जग्गामा अन्त्येष्टी

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
धरानमा पत्रकार राईको आफ्नै जग्गामा अन्त्येष्टी

धरानः धरानका पत्रकार तथा समाजसेवी किसन राईको अन्त्येष्टि गरिएको छ ।
गत कार्तिक ७ गते साँझ खोटाङमा भीरबाट खसेर उनको निधन भएको थियो । हङकङबाट प्रकाशन हुने एभरेष्ट खबरका सम्पादक प्रकाशक तथा नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष समेत रहेका राईको धरान–१५ स्थित आफ्नै जमिनमा बाहिङ राईको परम्पराअनुसार संस्कार गरिएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि धरान–१५ स्थित किरात राई यायोक्खाको कार्यालय परिसरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, जसपाकै नेता आङकाजी शेर्पा, नेकपा एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदी, धरान उपमहानगपालिकाकी उपप्रमुख मञ्जु भण्डारी (सुवेदी) लगायत स्थानीय नेताहरु समेत पुगेका थिए ।

उनको पार्थिव शरिरमा हङकङ नेपाली महासंघ, धरान हङकङ मञ्च, किरात राई यायोक्खा सुनसरीलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पुष्पगुच्छा, खदा र माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पणपछि त्यहाँ नजिकै रहेको राई परिवारको आफ्नै जग्गामा अन्त्येष्टि गरिएको हो । किसनको परिवारले अन्त्येष्टि कार्यकै लागि सो स्थानमा धेरै पहिले नै जग्गा किनेको थियो । त्यहाँ उनका बुबाको र अन्य नातेदारको पनि चिहान रहेको छ ।
कार्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ स्थित भीरबाट पंखु खोलामा खस्दा राईको मृत्यु भएको हो । हङकङबाट उनकी आमा, श्रीमती, छोरा तथा बेलायतबाट छोरा र आफन्त आएपछि अन्तिम संस्कार गरिएको हो । नेपाली समुदायको अधिकारका लागि समेत लड्दै आएका उनलाई केही समयअघि हङकङ सरकारले सम्मान गरेको थियो भने नेपाल सरकारले पनि हालै जनसेवाश्री पदक प्रदान गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend