धरानः धरानमा सम्बन्ध विच्छेद भएर अलग्गै बस्दै आएकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।
सम्बन्ध विच्छेद भइसकेर अलग्गै बस्दै आएकी ती महिलालाई बलात्कार गरेको आरोपमा धरान-१५ का भोजराज थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । पीडितकी छोराछोरीले घटनाबारे साविती बयान दिएपछि उनलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीमाथि इलाका प्रहरी कार्यालयमा उजुरी समेत परेको थियो ।
गत बिहीबार बिहान ६ बजे ५२ वर्षीय ती पुरुषले छोराछोरी अर्को कोठामा सुतिरहेको बेला जर्बजस्ती गरेको र उनी चिच्याएपछि घटना बाहिरिएको थियो ।
धरान-१५ मा काठ व्यवसाय गर्दै आएका उनले ससुरालीमा बसेर घर, सम्पत्ति तथा फर्निचर हाउस आफ्नो नाममा पारेको समेत पीडितले आरोप लगाएका छन् ।
प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण समेत गरेको जनाएको छ । बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरी ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । ‘अहिले पनि हामी अनुसन्धानकै चरणमा छौं’, डिएसपी कुँवरले भने, ‘७ दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेका छौं ।’
घटनाको प्रकृति हेर्दा र प्रहरीले गरेको स्थलगत मुछुल्काबाट पनि जबरजस्ती करणी गरेको देखिएको प्रहरीले बताएको छ ।
