धरानः संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य फेल हुने दावी गर्दै नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने पनि बताएका छन् ।
धरान उपमहानगरपालिकामा आयोजित भेटघाट तथा अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपनि त्यो प्रस्ताव फेल हुन्छ नै, त्यसपछि प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेता राजेन्द्र मुख्यमन्त्री बन्छन् ।’
गृहजिल्ला तेह्रथुम जानुअघि उनी धरान उपमहानगरपालिकामा निस्किएका थिए । उनी नेकपा (एकीकृत समाजवादी) का नेता हुन् । भोलि अर्थात् कार्तिक १५ गते प्रदेश १ मा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको छ । उनले मुख्यमन्त्रीमा आफ्नै दलबाट निरन्तरता पाउने दावी गरे । ‘राजेन्द्रको नेतृत्वमा सरकार बन्छ, आलोपालो गर्ने भन्ने कुरा मलाई थाहा छैन । शीर्ष नेताहरुबीच सहमति छ भने त्यो छुट्टै कुरा हो, बाहिर आएको छैन ।’
तस्वीरः लक्ष्मण थापा