धरानः स्व. कवि विमल गुरुङको ५० औं जन्मजयन्ति तथा ‘३० औं राष्ट्रिय कविता महोत्सव’ यो वर्ष मङ्सिरमा आयोजना हुने भएको छ ।
हरेक वर्ष कार्तिक १९ गते आयोजना हुँदै आएको ‘राष्ट्रिय युवा कविता महोत्सव’ यो वर्ष मङ्सिरमा हुने भएको हो । यो वर्ष प्रतियोगितात्मक कविता महोत्सव मङ्सिर १९ गते आयोजना गरिने कवि विमल गुरुङ स्मृति पुस्तकालयका संस्थापक तथा अध्यक्ष एवम् बुबा पूर्णबहादुर गुरुङले जानकारी दिए । विगतका वर्षहरुमा कवि विमलको जन्मदिन कर्तिक १९ गते पारेर कार्यक्रम हुने गरेको थियो । तर अघिल्लो वर्ष र यो वर्ष मङ्सिरमा कार्यक्रम पुगेको हो ।
प्रतियोगितात्मक कविता मङ्सिर १५ गतेसम्म आइपुग्नुपर्ने गरिएको जनाइएको छ । ‘कविताहरु आजैको मितिदेखि पठाउन आह्वान गर्ने र प्रतियोगी कविताहरु मङ्सिर १५ मसान्तसम्म आइपुग्नुपर्ने निर्णय भएको छ,’ सचिव गणेश तिम्सिनाले जानकारी दिए ।
प्रतियोगितात्मक कविता महोत्सवमा प्रथम हुनेले नगद २१ हजार, दोस्रो हुनेले नगद १७ हजार र तेस्रो हुनेले नगद ११ हजार पुरस्कार तथा प्रमाणपत्र पाउनेछन् । यस्तै, सान्त्वना हुनेले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । कविता महोत्सव धरान १८ स्थित विमल स्मृति पुस्तकालयको हालमा हुनेछ ।
प्रगतिशील तथा सशक्त कवि विमलको मात्र १९ वर्षको अल्पायुमा नै दुर्घटनामा ज्यान गुमेको थियो । किशोरावस्थामा नै सशक्त कविताहरु सिर्जना गरेका विमलको स्मृतिमा उनको आमाबुबाले घरमा नै पुस्तकालय स्थापना गरिदिएका छन् । स्व. कवि विमलको स्मृतिमा उनको बुबा आमाले पुस्तकालय स्थापना गरिदिएका हुन् ।
पुस्तकालयका अनुसार देशभरबाट कविताहरु आउन थालिसकेको छ । कविता प्रतियोगितामा हातले लेखेको नभई कविता कम्प्युटर प्रिन्ट वा इमेल गरेको हुनुपर्ने आयोजकले जनाएको छ । संस्थापक गुरुङका अनुसार कुल प्राप्त भएको कविताहरुमध्येबाट उत्कृष्ट १५ छनौट गरिने र महोत्सवको दोस्रोदिन वाचन गरेर बिजेता तीन कविता घोषणा गरिनेछ ।
कार्यक्रममा २१ जना लेखक, पत्रकार, साहित्यकार, कलाकार र राजनीतिज्ञहरुलाई सम्मान कार्यक्रम पनि आयोजना गरिएको सचिव तिम्सिनाले जानकारी दिए ।