Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फाल्गुनन्दको जन्मजयन्ति मनाइँदै

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७८, बिहिबार
फाल्गुनन्दको जन्मजयन्ति मनाइँदै

धरानः नेपालका १६ औ राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औं जन्मजयन्ति मनाइँदैछ । पूर्वी नेपालसहित देशभर नै जन्मजयन्ती मनाइँदैछ ।
वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मिएका नरध्वज लिङदेन पछि गएर फाल्गुनन्दको नामबाट परिचित बनेका हुन् । उनको नाम फलामसिंह रहेको पनि कतिपय पुस्तकहरुमा लेखिएको छ । सानो उमेरमा धेरै बिरामी परेपछि फलामको चुरा लगाउँदा सञ्चो हुने र फलामको चुरा लगाएको ब्यक्तिको दीर्घजीवन बन्न सक्ने जनविश्वासले त्यो समय फलामको चुरा उनलाई हातमा लगाइदिएकाले गाउँमा बोलाउने नाम फलामसिंह परेको जानकारहरुको भनाइ छ ।
महागुरु फाल्गुनन्द लिङ्देन १३७ औं जन्मजयन्ती कार्यक्रम नेपालमा मात्र नभएर विदेशमा समेत मनाउने गरिएको छ । फाल्गुनन्दको जन्मजयन्ती वर्षेनी धुमधामका साथ मनाइने गरिएको विश्व किरात महासंघका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार इलामको चुलाचुलीमा रहेको बहुभाषिक पाठशालामा विविध कार्यक्रमका साथ मंसिर १० गते धुमधामका साथ यो जन्मजयन्ती मनाइने गरिएको छ । चुलाचुली–१, इलाममा स्थापित फल्गुनन्द नोमाङगेना सेवा संघ सस्थाका संरक्षक साथै मुन्धुमविद तथा किरात धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको जन्मजयन्तिको अवसरमा सम्पूर्ण महानुभावहरुमा सुख, शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।
विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किरात धर्मालम्वीहरुले भगवानको रुपमा पूजाआजा गर्ने गरेको पाइन्छ । समुदायमा रहेको सामाजिक विसंगति, विकृतिले गाँजेको भयावह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले विक्रम सम्वत १९८८ वैशाख २५ गते तत्कालीन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका वरिष्ठ ब्यक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लब्रेकुटीमा उनले सत्यधर्म मुचुल्का बनाएर त्यसलाई लागू गर्न भनेका थिए ।
फाल्गुनन्दले किरात सामाजिक मुन्धुम (शास्त्र)को प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलिपूजाको अन्त्यका लागि अभियान शुरु, धर्म, संस्कृतिको पुनरउत्थानजस्ता कार्यहरु गर्नुभएको थियो । समाज सुधारको उनको योगदानको कदर गर्दै वि.स. २०६६ साल मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
राष्ट्रिय पर्वका रुपमा मनाउन आग्रह
राष्ट्रिय विभूति फाल्गुनन्द जन्मजयन्तिलाई राष्ट्रिय पर्वको रुपमा मनाउन विश्व किरात महासंघका अध्यक्ष तुम्बापोले आग्रह गरेका छन् । उनले राष्ट्रिय विभूति, दार्शनिक, मुन्धुमका पुनरुत्थानकर्ता, किरात धर्म दर्शनका पथप्रदर्शक, मुन्धुमका अखण्ड विधाता अहिंसा र सत्यका प्रतिमूर्ति, नारीवादी, सन्त योगी, साधक दार्शनिक एवम महान समाज सुधारक, विश्व शान्ति अभियन्ता, शैक्षिक अभियन्ता महागुरु फल्गुनन्दको १३७ औं फल्गुनन्द जन्मजयन्तिलाई राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह गरेका हुन् । महागुरु फल्गुनन्दले समाज सुधार अभियान साथै सारा सकल प्राणीको रक्षार्थ विश्व शान्तिको कामना गर्दै विश्व मानव एकता र विश्व शान्ति स्थापनाको निम्ति उनले पुरयाएको योगदानको कदर गर्दै नेपाल सरकारले फल्गुनन्दलाई नेपालको १६ औं राष्ट्रिय विभूति घोषणा गरिसकेको छ । उनको सम्मान स्वरुप हुलाक टिकट पनि छापिसकेको छ साथै सरकारी पाठ्यक्रममा पनि उनको संक्षिप्त जीवनी राखिएको छ ।
‘अब महागुरु फल्गुनन्दलाई सम्पूर्ण नेपालीहरुको साझा महागुरु राष्ट्रिय विभूतिको रुपमा लिनुपर्छ र उनको जन्मजयन्ति कार्तिक २५ गतेलाई राष्ट्रिय पर्वको रुपमा सम्पूर्ण नेपालीहरुले मनाउनुपर्छ ।’ उनले भने ।

प्रकाशित मिति: कार्तिक २५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend