धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलमा पेशागत विकास तालिम सम्पन्न भएको छ ।
कार्तिक २५ र २६ गते दुईदिने पेशागत विकास तालिम आयोजना भएको डाइरेक्टर प्रविन अग्रवालले जानकारी दिए । स्कुलमा आइपुगेका नयाँ प्रधानाध्यापक डा. पिटरको परिचयात्मक कार्यक्रमबाट शुरु भएको थियो ।
कार्यक्रममा प्रधानाध्यापक डा. पिटरले शैक्षिक अभिवृद्धि विकासमा सहजता ल्याउन शिक्षण विधिको उपायहरु विद्यार्थीलाई दिइने सकारात्मक दण्ड, त्यसबाट विद्यार्थीमा आउने सकारात्मक सिकाई र नकारात्मक दण्डको असरबारेमा जानकारी दिएका थिए । उनले आजका विद्यार्थी भोलिका कर्णधार भएको बताउँदै शिक्षण विधिहरू पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनले कर्णधार विद्यार्थी उत्पादन गर्ने शिक्षकमा हुनुपर्ने ज्ञान, स्वअध्ययन, नियम, असल शिक्षकमा हुनुपर्ने गुणका बारेमा पनि जानकारी गराएका थिए । शिक्षक पेशा सबैभन्दा महत्वपूर्ण पेशा हो भन्ने सकारात्मक भिडियो देखाएर उनले पेशागत विकास तालिमको समापन गरेका थिए ।
के के मा नयाँ नियुक्त भएका प्रिन्सिपल पिटर नेपाल र भारतमा गरी ४० वर्षसम्म अध्यापन गरेका व्यक्ति हुन् । उनले अर्थशास्त्र, अंग्रेजी र शिक्षामा एमए गरेका छन् भने शिक्षामै एमबिए र पिएचडी गरिसकेको डाइरेक्टर अग्रवालले जानकारी दिए । उनले यसअघि नेपाल र भारतमा रहेका विभिन्न स्कुलको प्रिन्सिपलको जिम्मेवारी बहस गरिसकेको पनि उनी बताउँछन् । कार्यक्रममा बोल्दै डाइरेक्टर अग्रवालले आफूहरुले २१ औं शताब्दीको सीपमा जोड दिँदै अघि बढ्ने बताए । उनले सन् २०३० सम्ममा ठूलो परिवर्तन हुने पनि बताए । ‘मनोवृत्ति, सीप र ज्ञान, मूल्यमान्यता जगाउन हामी लागिपरेका छौं, जसले हाम्रा विद्यार्थीहरूलाई विश्वव्यापी नागरिकको रूपमा विश्वमा सहभागी हुन र योगदान दिन सक्षम बनाउँछ’, उनले थपे, ‘हाम्रा बालबालिकाहरुलाई सकारात्मक मनोवृत्ति विकास गर्न लागेका छौं, जसले विद्यार्थीहरूलाई ज्ञान र सीपहरू प्राप्त गर्न, प्रदर्शन गर्न र अभिव्यक्त गर्न सशक्तिकरण गर्न समर्थन गर्दछ ।’





