विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्।
मुख्यमन्त्री राईले ३० दिनभित्रै विश्वासको मत लिने पनि बताएका थिए। उनले यही कात्तिकभित्रै सकेसम्म विश्वासको मत लिने बताएका थिए । त्यही अनुसार यही मंगलबार उनले विश्वासको मत लिन लागेका हुन्। मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरीएको मुख्यमन्त्रीले स्वकीय सचिव सन्दिप राईले जानकारी दिए । गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए ।
सत्ता पक्षीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन्।
प्रदेश १ को प्रतिपक्षमा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् । मुख्यमन्त्री राईसहित नेकपा एमालेका १० सांसद नेकपा (एकीकृत समाजवादी) मा गएपछि तत्कालीन मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका थिए । आचार्यले प्रदेश सभामा विश्वासको लिन असफल भएपछि पाँच दलीय विपक्षी गठबन्धनको नेतृत्व गर्दै राई प्रदेश १ को तेस्रो मुख्यमन्त्री बनेका थिए ।