धरानः धरानमा पनि नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव परेको छ ।
धरानमा विशेष गरेर सार्वजनिक सवारी साधनमा बन्दको प्रभाव परेको छ । सवारी साधन नचल्दा भानुचोक प्रायः सुनसानजस्तै छ ।
आज (मङ्गलबार) बिहानैदेखि धरानबाट छुट्ने सार्वजनिक बसहरु चलेनन् । धरानबाट पहाडी र तराईमा चल्ने कुनैपनि सार्वजनिक बसे नचल्दा केही यात्रुले दुःख समेत पाएका छन् । ‘२५ गते नै बन्दको घोषणा गरिएकोले धेरैले थाहा पाएका हुनाले धेरै यात्रुले दुःख पाएनन्’, धरानको भानुचोकमा भेटिएका सुजन विकले भने । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बन्द आह्वान भएको हो ।
गत २५ गतेदेखि नै देशव्यापी विरोध प्रदर्शन, चक्काजाम, सिटी जुलुस, मसाल जुलुस गर्दै आज ३० गते नेपाल बन्द आह्वान भएको हो । नेकपाले गत २५ गते नै जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुको मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने घोषणा गरेको थियो ।
बन्दबारे थाहा नपाएका कारण कलेज पुगेका केही विद्यार्थी घर फर्किएका देखिन्थे भने केही पसलहरु पनि खुलेका थिए । यस्तै, टेम्पो, मोटरसाइकललगायतका सवारी साधन भने फाट्टफुट्ट चलेका छन् । टेम्पो, सिटी सफारीले यात्रुलाई इटहरीलगायत नजिकका स्थानसम्म पुरयाउने गरेको पनि पाइयो । यी सवारी साधनले मङ्गोमा यात्रु ओसारेको कानेपोखरी हिँडेका नरबहादुर विकले जानकारी दिए । ‘विशेष कामले कानेपोखरी नपुगी भएको छैन, टेम्पोले त्यहाँ पुगेको २ हजार रुपैयाँ भन्दैछन्, अब जसरी पनि जानुपर्नेछ ।’ उनले भने ।
तस्वीरः हाम्रो कोशी आवाज






















